कांग्रेसमा दुई लाइन संघर्ष : राष्ट्रिय सभाका नेता सिटौलालाई हटाएर पन्तलाई जिम्मेवारी

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्ण सिटौलालाई हटाएर कमलादेवी पन्तलाई मनोनीत गरेसँगै कांग्रेस विवाद थप चर्किएको छ । प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेतामा पन्तलाई नियुक्त गरेका हुन् ।

यो निर्णयपछि १४औँ महाधिवेशन पक्षधर नेताहरूले विचारका आधारमा पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । सिटौलालाई संसदीय दलको नेताबाट हटाउनुलाई संस्थापन पक्ष मिलेरभन्दा पेलेर जाने नीतिमा रहेको उनीहरूको दाबी छ । ‘उहाँहरूले (संस्थापन पक्ष) दूरी बनाउने काम गर्नुभएको छ । यो राम्रो होइन । राष्ट्रिय सभा दलको नेताबाट सिटौलालाई हटाउनुपर्ने कुनै कारण थिएन,’ देउवानिकट एक नेताले भने । 

राष्ट्रिय सभाका सांसदहरूसँग सामान्य छलफलसमेत नगरी सिटौलालाई हटाएर पन्तलाई मनोनीत गरिएकोमा सांसदहरूले पनि असन्तुष्टि जनाएका छन् । ‘सिटौलाजस्ता प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका, शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका पाका नेतालाई हटाएर नयाँ मनोनीत गर्दै ह्युमिलेट गर्ने काम भएको छ,’ सांसद आनन्द ढुंगानाले भने, ‘यस्तो निर्णय गर्दा राष्ट्रिय सभाका २४ जना सदस्यलाई बोलाएर सामान्य छलफलसमेत भएन । यो गैरलोकतान्त्रिक चरित्र भयो ।’ विधानमा संसदीय दलको नेता मनोनीत गर्ने व्यवस्था भए पनि सामान्य छलफल नगरिने आश्चर्यजनक रहेको उनले बताए ।

पन्तले भने संसदीय दलको विधानअनुसार आफू दलको नेतामा मनोनीत भएको बताइन् । ‘प्रतिनिधिसभाको संसदीय दलको नेताले राष्ट्रिय सभाको नेता चयन गर्ने हो । शेरबहादुर देउवाले कृष्ण सिटौलालाई चयन गर्नुभएको थियो । अहिले नयाँ नेताले मलाई नेता मनोनीत गर्नुभएको छ,’ उनले भनिन्, ‘पार्टीले राष्ट्रिय सभाको नेता भएर काम गर भनेर जिम्मेवारी दिएको छ । बदलिएको अवस्थामा जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नेछु ।’

प्रतिनिधिसभाको संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित भएसँगै उनले संसदीय दलको प्रतिनिधिसभातर्फ उपनेता, प्रमुख सचेतक र सचेतकका साथै राष्ट्रिय सभातर्फको नेता र प्रमुख सचेतक नियुक्त गरेका हुन् । संसदीय दलको उपनेतामा अभिषेकप्रताप शाह, प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निस्कल राई मनोनीत भएका छन् । राष्ट्रिय सभातर्फ कमला पन्त दलको नेता र प्रमुख सचेतकमा पदम परियार मनोनीत भएका छन् । यसअघि राष्ट्रिय सभातर्फ दलको नेता कृष्ण सिटौला र प्रमुख सचेतकमा कृष्णबहादुर रोकाया थिए । रोकाया भने विधायन व्यवस्थापन समितिको सभापति चयन भएसँगै प्रमुख सचेतकको पद रिक्त थियो । सिटौला र रोकायालाई तत्कालीन संसदीय दलका नेता देउवाले मनोनीत गरेका थिए ।

खड्काको स्पष्टीकरण तामेलीमा
कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण तामेलीमा राखेको छ । समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले खड्काको पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै तामेलीमा राख्ने निर्णय गरेको हो । गत २ वैशाखमा समितिले खड्कालाई स्पष्टीकरण सोधेको थियो । ४ वैशाखमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि स्पष्टीकरणको औचित्य समाप्त भएको भन्दै स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको गुरुङले बताए ।

अनुशासन समितिले रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई निलम्बन गर्ने निर्णय गरेको छ । तामाङलाई गत ६ वैशाखमा समितिले स्पष्टीकरण सोधेको थियो । उनले पार्टी नेतृत्वविरूद्ध बदनियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधिएको थियो । उनले ८ वैशाखमा स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरण सन्तोषजनक एवं चित्तबुझ्दो नदेखिएकाले थप अनुसन्धान गरी निर्णय तहमा पुग्नुपर्ने देखिएकाले जिल्ला सभापतिबाट निलम्बन गरिएको अनुशासन समितिले जनाएको छ ।

यस्तै, अनुशासन समितिले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा सातजना नेतासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ । पाँच दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय भएको समितिले जनाएको छ । स्पष्टीकरण सोधिएका नेताहरूमा महासमिति सदस्य तथा लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार, कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रदीप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी प्रदेश उपसभापति तथा प्रदेश सभा सदस्य राजु खनाल, मधेश प्रदेश सांसद जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर राय छन् । 

सुझावित समाचार