शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक रूपमा कमजोर तथा विशेष क्षमता भएका विद्यार्थीलाई सहयोग गरेको छ । कम्पनीले रोल्पा नगरपालिका– १० धाङ्सी निवासी १२ वर्षीय सन्देश बुढामगरको अध्ययनका लागि आवश्यक सहयोग गरेको हो । बुढामगरका जन्मजात दुवै हात चल्दैनन् ।
अशक्त सन्देशले परिवारको कमजोर आर्थिक अवस्थाका बाबजुद खुट्टाको सहारामा अध्ययनलाई निरन्तरता दिँदै आएका छन् । रोल्पामा विशेष क्षमता भएका विद्यार्थीका लागि उपयुक्त अपांगमैत्री विद्यालयको अभाव छ । कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण उनको थप अध्ययनमा समस्या देखिएपछि सहयोग गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले सन्देशको माध्यमिक तहसम्मको अध्ययनलाई निरन्तरता दिन काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको छ । साथै, उनको रेखदेख तथा आवासीय व्यवस्थाका लागि अपांग नवजीवन केन्द्रसँग सहकार्य गरेको छ । जसअनुसार केन्द्रले सन्देशको आवास, हेरचाह तथा अध्ययनको समन्वय गर्नेछ भने खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिने बताइएको छ ।