सर्वसाधारण लगानीकर्ताका लागि याम्बलिङ हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले १६ वैशाखदेखि आइपिओ खुला गरेको जनाएको छ ।
कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशतले हुने २८ लाख कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावितलाई सात लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दुई लाख १० हजार कित्ता बिक्री गरेर बाँडफाँट गरिसकेको छ ।
अहिले दोस्रो चरणमा एक लाख पाँच हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कम्पनीमा कर्मचारीलाई छुट्याइएको छ । बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुलाइएको हो ।
प्रतिकित्ता १०० रुपैयाँ तोकिएको कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म भर्न २२ वैशाखसम्म भर्न पाइनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।