रुपन्देहीका उद्योगी–व्यवसायीहरूले उद्योग व्यवसाय क्षेत्रका समस्याहरू समाधानका लागि नीतिगत स्पष्टता र सहजीकरणको माग गरेका छन्। उनीहरूले कर प्रणालीदेखि औद्योगिक पूर्वाधार, उत्पादन प्रवर्द्धन र कानुनी जटिलतासम्मका विषयमा ध्यानाकर्षण गराएका हुन्। रूपन्देही उद्योग संघले रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलसँगको गरेको स्वागत तथा परिचय कार्यक्रममा उद्योग व्यवसाय क्षेत्रका समस्याहरू राख्दै नीतिगत स्पष्टताको कुरा राखेका हुन्।
कार्यक्रममा सहभागी उद्योगीहरूले समग्रमा उद्योग क्षेत्रलाई प्रोत्साहन गर्ने स्पष्ट नीति, कर संरचनामा सहजीकरण, पूर्वाधार विकास र स्वदेशी उत्पादन प्रवर्द्धनका लागि सरकारको ठोस पहल आवश्यक रहेकामा जोड दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुलभ खरेलले वर्तमान सरकार सुशासनमा केन्द्रित रहेको बताउँदै उद्योग क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। ‘यो सुधारको वर्ष हो, कानुनी जटिलता हटाउँदै उद्योगमैत्री वातावरण बनाउन लागिपरेका छौँ,’ उनले भने।
उनले वन, पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न पहल भइरहेको उल्लेख गर्दै भने, ‘सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग सहकार्य गर्नेछ।’ कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले उद्योग क्षेत्रमा देखिएका विकृतिहरू हटाउन रणनीतिक हस्तक्षेप आवश्यक रहेको धारणा राखे।