१०औँ रारा पोखरा स्पोर्टस् अवार्डको मिति दुई साता पछि सर्‍यो

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

१०औँ संस्करणको रारा पोखरा स्पोर्टस् अवार्ड २०८२ को मिति दुई सातापछि सरेको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना, हिमश्री फुड्स प्रालि पोखराको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजन तथा पोखरा न्युरोडस्थित गुरुङ गहनाघर प्रालि र केल्मी नेपालको सहप्रायोजनामा हुने कार्यक्रमको ३१ वैशाखमा हुने भएको हो।

यसअघि १८ वैशाखका लागि तय गरिएको कार्यक्रम विविध कारणले पछि सार्नुपरेको आयोजक मञ्चका अध्यक्ष एमबी आस्थाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। अवार्ड कार्यक्रममा गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पुर्याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था, पत्रकारलाई गरी विभिन्न आठ विधामा अवार्ड वितरण गरिनेछ।

कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, पिपल्स च्वाइस, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ/संस्था, वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड रहेका अध्यक्ष आस्थाले जानकारी दिए।

वितरण गरिने आठ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकलाई वितरण गरिने अवार्डको लागि ३/३ जना र पिपल्स च्वाइसको लागि पाँच खेलाडीलाई मनोनयन गरिनेछ। पिपल्स च्वाइसको लागि फुटबलका दीप कार्की, भलिबलका राजन दर्लामी, एथलेटिक्सकी नारायणी भण्डारी, मुआथाई/आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा र क्रिकेटका विपिन खत्री मनोनयनमा परेका छन्। अन्य विधाको मनोनयन सार्वजनिक गरिएको छैन।

आयोजक मञ्चका महासचिव परशुराम शर्माका अनुसार प्रदेशका ११ जिल्लामा रहेका र गत एक वर्ष उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूबाट उत्कृष्ट छनोट गरी मनोनयन गरिने जानकारी दिए। अवार्ड सम्पन्न गर्न गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, कास्की जिल्लास्थित पाँच पालिकाहरूको विशेष सहयोगसँगै अन्य विभिन्न संघसंस्थाले सहयोग गरेका छन्।

सुझावित समाचार