विकल पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। पत्नी एलिना बस्नेतसमेतलाई प्रतिवादी कायम गरेर राजस्व अनुसन्धान विभागले सरकारी वकिल कार्यालयमार्फत बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरूविरुद्ध कुल ६८ करोड ९४ लाख ६५ हजार २०४ रुपैयाँ बिगो दाबी गरिएको छ। विदेशी विनिमयको सम्बद्ध कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दम्पतीविरुद्ध मुद्दा दायर भएको हो।
विभागले दम्पतीविरुद्ध नै विदेशी विनिमयको कसुरमा ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ बिगो दाबी गर्दै १४ असोज ०८१ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
विदेशी विनिमयको कसुरबाट आर्जित सम्पत्तिउपर विभागले अनुसन्धान गरी सम्पत्ति शुद्धीकरणको नयाँ मुद्दा दायर गरेको हो। कसुरबाट आर्जित धनको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा १ को देहाय खण्ड (क),(ख) र (ग)मा उल्लिखित कार्य गरेको अनुसन्धानबाट पुष्टि हुन आएको आरोपपत्रमा उल्लेख छ।
सम्पत्ति शुद्धीकरणको कसुरमा विकलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १५३ र पत्नी एलिनाविरुद्ध सात करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बिगो दाबी गरिएको छ। हाल जेलमा रहेका पौडेलविरुद्ध दायर भएको यो आठौँ मुद्दा हो।