कञ्चनपुरमा कैदीबन्दीको निःशुल्क आँखा उपचार

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

कञ्चनपुरका कैदीबन्दीहरूको निःशुल्क आँखाको उपचार गरिएको छ। बुधबार जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दीहरूको निःशुल्क आँखाको उपचार गरिएको हो।

नेपाल नेत्रज्योति संघ गेटा महेन्द्रनगर आँखा अस्पताल, पतञ्जली योग समिति र कारागारको संयुक्त आयोजनामा कैदीबन्दीहरूको निःशुल्क आँखाको उपचार गरिएको हो। नेपाल नेत्रज्योति संघ गेटा, महेन्द्रनगर आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत वीरसिंह धामीले दुई सय कैदीबन्दीको आँखा चेकजाँच उपचार गरिएको बताए।

उनका अनुसार ११३ जनालाई औषधि, ५६ जनालाई चस्मा र बाँकीलाई परामर्श दिइएको छ। मोतियाबिन्दुका ६ बिरामीलाई एक महिनाभित्रै निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ।

कञ्चनपुरका कारागार प्रमुख हेमन्ती साउदले कैदीबन्दीको मागका आधारमा आँखा अस्पतालसँग समन्वय गरेर पहिलोपटक निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरेको बताइन्। ‘यसअघि उपचारका लागि बाह्य अस्पतालमै जानुपर्ने थियो,’ उनले भनिन्, ‘अहिले हामीले भित्रै सेवा प्रदान गरेका छौँ।’ कारागारभित्रै आँखा उपचार सेवा पाएपछि कैदीबन्दी लाभान्वित र हर्षित भएका छन्। 

कैदीबन्दीका अगुवा दानसिंह ठगुराठीले भित्रै निःशुल्क उपचार पाएपछि राहत पुगेको बताए। उनका अनुसार पतञ्जली योग समितिको आयोजनामा आइतबारदेखि योग शिविर सञ्चालन गरिएको छ। कैदीबन्दीका लागि योग, आँखा शिविरले उनीहरूको मानसिकता र स्वास्थ्यमा सुधार हुने अपेक्षा गरिएको छ।

सुझावित समाचार