शैक्षिक कार्यक्रमहरू अपग्रेड गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयले धमाधम शैक्षिक कार्यक्रमहरूको स्तरोन्नति गराउन थालेको छ। ०७६ सालमा स्थापना भएर ०७८ बाट पढाइ सुरु गरेको मोरङ बुढीगंगा– ४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियू)ले धमाधम स्नातक तहदेखिको शैक्षिक कार्यक्रमहरूलाई स्नातकोत्तर तहमा स्तराेन्नति गर्न थालेको हो। कानुन, हस्पिटल म्यानेजमेन्ट एन्ड हेल्थकेयर विषयमा स्नातकोत्तर सुरु गरिसकेको मनमोहनले इन्जिनियरिङतर्फ पावर सिस्टममा पनि स्नातकोत्तर तहको पढाइ यही वैशाखदेखि सुरु गराएको छ ।  

कोशी प्रदेश सरकारले स्थापना गरेपछि देशकै पहिलो प्राविधिक विश्वविद्यालयका रूपमा परिचित मनमोहनले भ्यागुतोजसरी उफ्रेर, आफ्नो दशवर्षे रणनीति सफल बनाउन  धमाधम सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमहरूको स्नरोन्नति गराउन थालेको उपकुलपति डा. सुवासश्री पोखरेलले बताए । उनका अनुसार हाल  कानुन, इन्जिनियरिङ अनि अस्पताल व्यवस्थापनमा स्नातकोत्तर कक्षा सञ्चालन गरिसकेको मनमोहनले चाँडै विभिन्न विषयमा डिग्रीसँगै  विद्यावारिधि (पिएचडी) को कार्यक्रम पनि सञ्चालन गर्न गइरहेको छ । 

मोरङको बुढीगंगा– ४, हात्तीमुढामा  २१ बिघा क्षेत्रफलमा फैलिएको केन्द्रीय कार्यालयसहित ५० अर्बभन्दा बढीको आधुनिक भौतिक पूर्वाधार निर्माण गरिसकेको मनमोहन प्राविधिक विश्वविद्यालयमा ०७८ सालदेखि उच्च प्राविधिक शिक्षा सञ्चालन हुँदैआएको छ । यो विश्वविद्यालयमा विभिन्न आठ प्रकारका प्राविधिक विषयमा तीनवर्षे डिप्लोमा तहका विद्यार्थीहरू पनि अध्ययन गर्दै आइरहेका छन् । 

उपकुलपति पोखरेलका अनुसार आधारभूत, मध्यम तथा उच्चस्तरको दक्ष जनशक्ति उत्पादन गर्ने क्षमतायुक्त यो विश्वविद्यालयले आगामी १० वर्षभित्र दक्षिण एसियामै परिचित हुने लक्ष्य लिएको छ । विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले भने, ‘हामी डिप्लोमादेखि स्नातक र स्नातकोत्तर हुदै पिएचडीसम्मको  अध्ययन गराउने योजनाअनुसार बढिरहेका छौँ, चाँडै उपलब्धि निकाल्नेछौँ ।’

जम्मा तीनवटा स्कुल रहेको एमटियूमा हाल स्नातकत तहमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, फार्मेसी, बिबिए एलएलबी पढाइ हुँदै आएको छ । यसैगरी, स्नातकोत्तरतर्फ कानुनमा एलएलएम, हस्पिटल एन्ड हेल्थकेयर म्यानेजमेन्ट र  इलेक्ट्रिकल   इन्जिनियरिङ   विषयमा पढाइ हुँदै छ । यसै शैक्षिक सत्रदेखि मनोचिकित्सासम्बन्धी काउन्सिलर (साइकोलोजिस्ट) को स्नातकोत्तर कक्षा पनि सञ्चालन गर्दै छ । 

उपकुलपति पोखरेलका अनुसार  मनमोहन विश्वविद्यालयले  चाँडै  मेडिकलतर्फका बिएस्सी नर्सिङ, अप्टोमेट्री, रेडियोलोजी, ल्याब टेक्नोलोजी, फिजियोथेरापी तथा एमबिबिएस/एमडी कार्यक्रम पठनपाठन सुरु गराउने तयारीमा छ । सँगै बायोमेडिकल इन्जिनियरिङ, प्राकृतिक चिकित्सा तथा योगविज्ञान, रेल्वे इन्जिनियरिङ, टनेल इन्जिनियरिङजस्ता नयाँ कोर्सहरू पनि सञ्चालनको तयारी गरिरहेको  छ । 

यस्तै, विश्वविद्यालयले हालसम्म ५० जना योगशिक्षक उत्पादन गरिसकेको छ । जसलाई सर्वसाधारणले योग प्रशिक्षकका रूपमा प्रयोग गरिरहेका छन् ।  एमटियूले आफ्नै प्रयोगशालामा रिसर्च गरेर मनमोहन सन्चो र भिक्स आयुर्वेदिक ओखतीको पनि  सफल उत्पादन गरिसकेको छ । यो विश्वविद्यालयबाट बर्सेनि विभिन्न आठवटा प्राविधिक विषयमा तीनवर्षे डिप्लोमा अध्ययन गरेर विद्यार्थी पनि उत्तीर्ण हुँदै आएका छन्। 

सुझावित समाचार