कुलेखानीमा एक सय मेगावाटको पम्पिङ जलाशययुक्त आयोजना प्रस्ताव

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलाशयको पानी उपयोग गरेर थप एक सय मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले ‘कुलेखानी–सिस्नेरी पम्प जलाशययुक्त जलविद्युत् आयोजना’ अघि बढाउने प्रक्रिया सुरु गरेको हो । 

यो आयोजना नेपालकै पहिलो पम्पिङ जलाशययुक्त जलविद्युत् आयोजना हुने बताइएको छ । प्रस्तावित आयोजनाबाट विशेषगरी हिउँदयाममा भारतबाट हुँदै आएको विद्युत् आयात घटाउने लक्ष्य राखिएको छ । प्राधिकरणका अनुसार इन्द्रसरोवरस्थित कुलेखानी जलाशयलाई माथिल्लो जलाशयका रूपमा प्रयोग गरिनेछ भने करिब तीन किलोमिटर तल इन्द्रसरोवर– २ राङ्चेनजिक कुलेखानी खोलामा ३६ मिटर अग्लो बाँध निर्माण गरी तल्लो जलाशय बनाइनेछ । 

तल्लो जलाशयको भण्डारण क्षमता करिब १५ लाख ४० हजार घनमिटर रहनेछ । आयोजनाअन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कलंकीनजिक इन्टेक निर्माण गरी करिब १.९ किलोमिटर लामो सुरुङमार्फत पानी लिप्पानेस्थित प्रस्तावित विद्युत्गृहमा खसाइनेछ । विद्युत्गृहमा ५०–५० मेगावाट क्षमताका दुईवटा टर्बाइन जडान गरिने योजना छ । 

विद्युत् उत्पादन भएको पानी टेलरेस हुँदै तल्लो जलाशयमा जम्मा गरिनेछ भने माग कम भएको समयमा सोही पानी पुनः पम्प गरेर माथिल्लो जलाशयमा फिर्ता पठाइनेछ । यस प्रणालीमार्फत उच्च मागको समयमा दैनिक ६ देखि १० घण्टासम्म विद्युत् उत्पादन गर्ने प्राधिकरणको योजना छ । 

आयोजनाको कुल लागत करिब १५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । पूर्ण सञ्चालन हुँदा इन्द्रसरोवरको जलस्तरमा अधिकतम २० मिटरसम्म र तल्लो जलाशयमा २३.५ मिटरसम्म उतारचढाव हुने जनाइएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनका लागि प्राधिकरणले प्रभावित क्षेत्रका स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायसँग राय–सुझाव संकलन सुरु गरेको छ ।
 

सुझावित समाचार