अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक– २ स्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मंगलबार आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
नमुना विद्यालय भवन निर्माण गर्दा मूल्यांकनभन्दा बढी मूल्यको निर्माण भएको भनी झुटा बिल भर्पाई बनाई बढी भुक्तानी दिएको–लिएको तथा विद्यालयको नगद रकम व्यक्तिगत प्रयोग गरी हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
हिमालय माविका तत्कालीन प्रधानाध्यापक र लेखापालले गरेको रकम हिनामिनाबारे नयाँ पत्रिका दैनिकले १४ असोज ०७८ मा ‘झापाको सामुदायिक विद्यालयमा एक करोडभन्दा बढी हिनामिना’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो। समाचार प्रकाशनपछि अनुसन्धान अघि बढाउँदै १७ असोज ०७८ मा विद्यालयमा अख्तियारको टोली पुगेको थियो। तर, त्यसको करिब साढे चार वर्षपछि मात्रै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ९३ लाख ८३ हजार ३०९ रुपैयाँ ७२ लाख बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजाय गरी बिगो असुलउपर गर्न माग दाबी गरेको छ।