अमेरिका र इरानबिच पाकिस्तानमा हुने भनिएको दोस्रो चरणको शान्तिवार्तामा थप अन्योल बढेको छ । इरानले शान्ति सम्झौताका लागि सन्तोषजनक प्रस्ताव नगरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि आफ्ना राजदूतहरूको पाकिस्तान भ्रमण रद्द गरेसँगै वार्तामा अन्योल बढेको हो ।
इरानका विदेशमन्त्री अब्बास अराघची तीन देशको यात्राको पहिलो चरणमा पाकिस्तान भ्रमण सम्पन्न गरी फर्किएपछि ट्रम्पको भनाइ आएको हो । भ्रमणका क्रममा विदेशमन्त्री अराघचीले पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफसँग वार्ता गरेका थिए । त्यसक्रममा उनले द्वन्द्व अन्त्य गर्न सम्भावित रूपरेखासहित मध्यस्थकर्तालाई प्रस्तुत गरेका थिए । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफलाई दबाब, धम्की वा घेराबन्दीमा तेहरानले अमेरिकासँग वार्तामा प्रवेश नगर्ने बताएका छन् ।
शनिबार मात्र ह्वाइटहाउसले अमेरिकी राजदूत स्टिभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुसनर इरानसँग वार्ताका लागि शनिबार इस्लामाबाद जाँदै गरेको जनाएको थियो । तर, इरानले वार्ताप्रति खासै चासो नदेखाएको संकेत गरेपछि अन्तिम समयमा अमेरिकी टोलीको इस्लामाबाद भ्रमण रोकिएको थियो । इरानले अमेरिकासँग ‘प्रत्यक्ष वार्ताको योजना नरहेको’ बताउँदै आएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले कुनै प्रत्यक्ष वार्ताको योजना नभएको बताएका हुन् ।
इरानको सशस्त्र सेनाले अमेरिकाले हर्मुजको जलमार्गमा नाकाबन्दी जारिराखेमा उचित जवाफ दिने धम्की दिएको छ । सेनाको कमान्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिलाई इस्लामिक रिभोलुसनरी गार्ड कोप्स (आइआरजिसी)सँग सम्बद्ध तस्निम समाचार एजेन्सीसहित धेरै राज्य मिडिया आउटलेटले साझा गरेका छन् । पाकिस्तानी मध्यस्थकर्ताहरू इरान–अमेरिका वार्ताबारे ‘सतर्कतापूर्वक आशावादी’ रहेका इस्लामाबादस्थित आफ्ना संवाददातालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।
हर्मुज जलमार्ग खोल्न तेहरानको प्रस्ताव
तेहरानले हर्मुजको जलमार्ग पुनः खोल्न र इरानमा युद्धको अन्त्य गर्न अमेरिकालाई नयाँ सम्झौताको प्रस्ताव गरेको छ । अमेरिकाले आफ्नो देशमा लगाएको नाकाबन्दी खोलेमा हर्मुजको जलमार्गमा गरिएको अवरोध खोल्न सकिने प्रस्ताव इरानले गरेको छ । पाकिस्तानी मध्यस्थकर्तामार्फत आफूहरूलाई सो प्रस्ताव गरिएको अमेरिकी अधिकारीले जनाएका हुन् । आर्थिक नाकाबन्दी र हर्मुजको अवरोध खुलेपछि दोस्रो चरणमा आणविक कार्यक्रमबारे छलफल गर्न सकिने इरानको प्रस्ताव छ ।
यसबारे अमेरिकी धारणा सार्वजनिक भइसकेको छैन । तर, स्थायी युद्धविरामका लागि इरानको आणविक कार्यक्रम पूर्णतः समाप्त हुनुपर्ने माग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेकाले इरानले प्रस्ताव स्विकार्ने सम्भावना कम रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।