सल्यानमा असिनापानीले कृषि बालीमा क्षति

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

शनिबार र आइतबार परेको असिनापानीले सल्यानमा गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति गरेको छ। जिल्लाका अधिकांश स्थानमा असिनापानीले लाखौँ मूल्यबराबरको क्षति भएको छ।

जिल्लाको बागचौर नगरपालिका, बनगाड कुपिन्डे नगरपालिका, शारदा नगरपालिका, दार्मा गाउँपालिका, छत्रेश्वरी गाउँपालिकाका अधिकांश स्थानमा असिनापानीले क्षति पुर्याएको छ।

असिनापानीले बढी मात्रमा बनगाड कुपिन्डेको वडा नं. ४, ५, ७, ८ र ९ मा क्षति गरेको नगरपालिकाले जनाएको छ। असिनापानीले बढी मात्रामा टिमुर, सुन्तला, कागती र पाकेको गहुँबालीमा क्षति पुर्याएको नगरपालिकाको कृषि विकास शाखा प्रमुख कृषि अधिकृत नारायणप्रसाद बेल्वासेले बताए। क्षतिको विवरण संकलन भइरहेको बताउँदै उनले नगदेबालीमा बढी क्षति पुगेको उल्लेख गरे।

दुई दिनको असिनापानीले दुई सय बोट सुन्तला, ५० बोट कागती र पाँच रोपनी क्षेत्रफलमा लगाएको आलुखेतीमा क्षति पुगेको बागचौर नगरपालिका– ७, दहगाउँका युवराज वलीले बताए। आम्दानीको मुख्य स्रोतका रूपमा रहेको फलफूलमा क्षति पुगेपछि आर्थिक संकट हुने अवस्था पैदा भएको उनको भनाइ छ।

‘भर्खर फूल खेलेर दाना लाग्ने समयमा असिनापानीले बोटमा एक दाना पनि नरहने गरी झारिदियो। नगदे बालीका रूपमा रहेको सुन्तला, कागती र आलुखेतीमा क्षति पुगेको छ। यसको क्षतिपूर्ति कहिले असुल होला र ?’ उनले भने।

छत्रेश्वरी गाउँपालिका– ४ का शेरबहादुर खड्काले पनि असिनापानीले लाखौँको क्षति पुगेको बताए। विशेषगरी वर्षभरि खर्च टार्ने एक मात्र स्रोतका रूपमा रहेको टिमुर, सुन्तला तथा तरकारीमा क्षति पुगेको उनले बताए।

सुझावित समाचार