मकै हेर्न बसेका थिङको बँदेलको आक्रमणबाट मृत्यु

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

सर्लाहीको लालबन्दीमा मकै हेर्न बसेका एक पुरुषको बँदेलको आक्रमणबाट मृत्यु भएको छ।  लालबन्दी नगरपालिका– १५, पिडखोल्सा बस्ने तुलबहादुर थिङका छोरा ३२ वर्षका प्रेमबहादुर थिङ (दावा) को जंगली बँदेलले आक्रमणबाट मृत्यु भएको हो। बँदेलको आक्रमणबाट गम्भीर घाइते भएको थिङको उपचारका लागि लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

केही दिनदेखि थिङ मकै हेर्न खेतमा बस्ने गरेका थिए । सोही क्रममा आइतबार साँझ खेतमा आएको बँदेल धपाउने क्रममा उनलाई बँदेलले एक्कासि आक्रमण गरेको परिवारको भनाइ छ। आक्रमणपछि थिङलाई उपचारका लागि लालबन्दी ल्याउँदै गर्दा बाटोमै उनको ज्यान गएको हो । घटनाबारे जानकारीपछि प्रहरी मृतकको घरमा पुगेको थियो । 

प्रहरी टोलीले मध्यराति नै घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएको छ । 

सुझावित समाचार