उखरमाउलो तराईमा वर्षाले ल्यायो राहत

लुम्बिनीदेखि पूर्वतर्फको तराई क्षेत्रमा यो साताभर हरेक दिनजसो वर्षा हुने, लुम्बिनी र सुदूरपश्चिमको तराईमा पनि मंगलबारबाट तापक्रम घट्ने

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

तराईमा उखरमाउलो गर्मी र काठमाडौं उपत्यकामा डढेलोसहितको प्रदूषणले आहत बनाइरहेका वेला शनिबारदेखि सुरु भएको वर्षाले राहत दिन थालेको छ । काठमाडौं उपत्यका र पूर्वी तराई क्षेत्रमा वर्षासँगै गर्मी र प्रदूषण घट्न थालेको छ भने पश्चिम तराईका बासिन्दाले मंगलबारसम्म प्रतीक्षा गर्नुपर्नेछ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यो साताभर बदली र वर्षाका गतिविधि हुनेछन् । पूर्वी नेपाल र काठमाडौंमा शनिबारदेखि नै यस्तो गतिविधि सुरु भए पनि पश्चिमतर्फ बुधबारबाट मात्रै वर्षा हुनेछ । ‘पूर्वी नेपाल र काठमाडौंलगायत क्षेत्रमा शनिबारदेखि नै वर्षा भएकाले तापक्रम घटेर गर्मी कम भइसकेको छ ।

काठमाडौंको वायु प्रदूषण पनि घटेको छ,’ उनले भने, ‘पश्चिम तराई (लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र)मा भने बुधबारदेखि मात्रै वर्षा हुनेछ । त्यसपछि त्यस क्षेत्रमा पनि तापक्रम घट्ने देखिन्छ ।’ वर्षा भए पनि पश्चिम तराईमा गर्मीको दर पूर्वी तराईको तुलनामा भने बढी नै हुने उनले बताए । 

गत साता पश्चिम तराईमा अधिकतम तापक्रम (भैरहवामा ४२ डिग्री सेल्सियस) पुगेर तातो हावाको लहर चलेको थियो भने तराईका अन्य क्षेत्रमा पनि ३८ डिग्री सेल्सियससम्म पुगेको थियो । तर, आइतबार भने कोशी, मधेश, बागमती, गण्डकीसँगै लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा भएको छ ।

आइतबार सबैभन्दा धेरै वर्षा झापाको केचनामा ८८.६ मिलिमिटर भएको छ । जसकारण पूर्वी तराईको चन्द्रगढीको तापक्रम २३.७, जनकपुरको २७.२ र विराटनगरको तापक्रम २४.६ डिग्री सेल्सियसमा झरेको छ । मध्यतराईको सिमरामा २९.७ डिग्री सेल्सियस मापन हुँदा भैरहवाको तापक्रम ३४.५ मा झरेको छ । भैरहवा क्षेत्रमा वर्षा नभए पनि पहाडी क्षेत्रको वर्षाका कारण चिसो हावा चल्नुका साथै बादल लाग्दा तापक्रम घटेको हो । 

 आज पनि वर्षा, भोलि झन् धेरै ठाउँमा
सोमबार (आज)भन्दा मंगलबार (भोलि) झन् धेरै ठाउँमा वर्षा हुने आकलन छ । सोमबार कोशी, बागमती र गण्डकीका हिमाली र पहाडी भूभागका थोरै स्थान, लुम्बिनीका पहाडी र हिमाली भूभाग तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको आकलन रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिम र स्थानीय वायुसँगै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रका कारण अहिले पानी परिरहेको हो ।

मौसमविद् सञ्जीव अधिकारीले सोमबार कोशीदेखि लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको आकलन रहेको र मंगलबार त्यसभन्दा पश्चिम क्षेत्रमा पनि पानी पर्ने देखिएको बताए । उनले भने, ‘यो प्रणालीले समग्रमा लुम्बिनीभन्दा पूर्वमा धेरै पानी पार्नेछ । तर, मंगलबार लुम्बिनी र सुदूरपश्चिमका तराईमा पनि पानी पर्ने देखिन्छ ।’ मंगलबार कोशी, मधेश, बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका थोरै स्थान साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको अनुमान छ ।

 घट्यो वायु प्रदूषण र डढेलो
वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको वायु प्रदूषण घटेको छ । वर्षाले धुलो पखाल्नुका साथै वनजंगलमा लागेको डढेलो निभाउँदा प्रदूषण केही घटेको हो । यद्यपि, काठमाडौंको हावामा अझै पनि प्रदूषण कायमै छ । मौसमविद् सञ्जीव अधिकारीले काठमाडौंको आकाशमा डम्म बादल लागेको र धुलोधुवाँको मात्रा घटिसकेको बताए ।

९ वैशाखमा २८ जिल्लाका ३०९ ठाउँमा डढेलो लागेको थियो । अहिले डढेलो पनि घटेको छ । नासाको मोडिज भूउपग्रहको तथ्यांक हेर्दा पूर्वी र मध्य नेपालसँगै पश्चिम तराईको चितवनमा डढेलो निभेको छ । रुपन्देहीदेखि कञ्चनपुरसम्म भने वर्षा नभएका कारण त्यस क्षेत्रका वनजंगलमा डढेलो जारी छ । 

सुझावित समाचार