पश्चिम एसियाको तनावले तीन महिनादेखि इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा परेको भन्दै व्यवसायीहरूले सहयोग गर्न सरकारलाई आग्रह गरेका छन्।
इरान–अमेरिकायुद्ध लगायतका कारणले निर्माण व्यवसायका लागि अत्यावश्यक डिजेल, पेट्रोल, अलकत्रालगायतमा भएको अचाक्ली मूल्यवृद्धिले समग्र निर्माण व्यवसाय संकटमा परेको भन्दै सहयोगका लागि निर्माण व्यवसायीहरुले सरकारसँग आग्रह गरेका हुन।
युद्धले गर्दा इन्धनसँगै सिमेन्ट, डन्डी, गिट्टी र बालुवाको मूल्य पनि अत्यधिक बढेकाले संकटमा परेको निर्माण व्यवसायलाई सहयोग गनुपर्ने निर्माण व्यवसायी संघ कोशीका अध्यक्ष जनसेवक भण्डारीले बताए। उनले भने, ‘अब निर्माण व्यवसायले अरु धेरै संकट धान्न सक्दैन। यसैले सरकारले ऐनअनुसार सहयोग गर्नुपर्छ।’
अचाक्ली मूल्यवृद्धिले प्रायः सबै निर्माण कार्य प्रभावित भैसकेकाले सरकारले मूल्य समायोजन वा एक वर्ष म्याद थप गरेर सहयोग गर्नुपर्ने व्यवसायीहरुको माग छ।
निर्माण व्यवसायी महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष केशव गौतमले सरकारको सहयोग नभए निर्माण व्यवसाय नै धरासायी बन्ने र लाखौँ मानिस बेराजगार हुने बताए। उनले भने, ‘निर्माण क्षेत्रमा लागत अप्रत्याशित रूपमा बढ्दा ठेक्काअनुसार काम सम्पन्न गर्नसक्ने अवस्था छैन। यसैले सरकारले मूल्य समायोजन गर्न र म्याद थप गर्नेबारे सकारात्मक भैदिनुपर्छ।’
निर्माण व्यवसायीहरूका अनुसार मूल्यवृद्धि र सामग्री अभावका कारण कोशी प्रदेशमाा सञ्चालित धेरै आयोजना प्रभावित भइसकेका छन र अझै प्रभावित हुने क्रम जारी छ।