कैलालीको लम्कीमा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय सञ्चालनमा आएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थापना गरिएको सेवा कार्यालयको शुक्रबार उद्घाटन गरेका हुन् ।
लम्कीचुहा– ४, बलियामा यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै कैलालीको पूर्वी क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुनेछ । लम्कीचुहा र टीकापुर नगरपालिका तथा मोहन्याल, जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकाका नागरिकले यातायातसम्बन्धी सेवा लिन धनगढीस्थित यातायात कार्यालय आउनुपर्नेछैन ।
सेवा कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री शाहले सेवा कार्यालयको सञ्चालनमा ल्याइएपछि यस क्षेत्रका जनताले राहतको अनुभूति गर्ने विश्वास व्यक्त गरे । यो क्षेत्रको विकासका लागि प्रदेश सरकारले हालै विभिन्न बहुवर्षीय योजनाका लागि स्रोत सहमति दिएको उनले बताए । मुख्यमन्त्री शाहले तीनै तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्वमार्फत मात्र समग्र विकास सम्भव हुने धारणा राखे ।
लम्कीमा यातायातको सेवा कार्यालय व्यवस्थापनका लागि स्थानीय झुप्रे रावतले पाँच वर्षका लागि आफ्नो घर निःशुल्क उपलब्ध गराएका छन् । धनगढी र कञ्चनपुरको भीमदत्तनगरमा यातायात कार्यालय तथा डोटी र डडेलधुरामा सेवा कार्यालय रहेका छन् ।