स्वास्थ्य मन्त्रालय तीनतिर

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण
  • जेन–जी आन्दोलनका क्रममा रामशाहपथस्थित मन्त्रालय आगजनीबाट ध्वस्त भएपछि अहिले मन्त्री एउटा भवनमा, सचिवसहितका केही कर्मचारी सिंहदरबारभित्रकै टहरामा र केही महाशाखा सिंहदरबारबाहिरको एनएचआरसीको भवनबाट सेवा दिँदै, छुट्टाछुट्टै बस्दा समन्वय र सहकार्यमा झन्झट

अत्यावश्यकीय सेवा प्रवाह गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भवन अभावका कारण सेवा प्रवाहमा समस्या भोगिरहेको छ । जेन–जी आन्दोलनका क्रममा रामशाहपथमा रहेको भवन आगजनीबाट ध्वस्त भएपछि मन्त्रालयले तीन ठाउँमा छरिएर सेवा प्रवाह गरिरहेको छ । 

हाल मन्त्रालयका केही महाशाखालाई सिंहदरबारबाहिर एनएचआरसीको नयाँ भवनमा र केही महाशाखालाई सिंहदरबारस्थित सर्वोच्च अदालतको नयाँ भवन पछाडि बनेका प्रिफ्याव डब्बा र जस्ताका टहरामा राखिएको छ । भवन अभावकै कारण स्वास्थ्यमन्त्री निशा मेहता खानेपानी मन्त्रालयको कार्यकक्षमा बसेकी छिन् । उनले त्यही ठाउँबाट स्वास्थ्यका सबै कार्य गर्दै आइरहेकी छिन् । उनको जिम्मामा स्वास्थ्य र खानेपानी मन्त्रालय छ । तर, आपत्कालीन तथा अत्यावश्यकीय सेवा प्रदान गर्ने मन्त्रालय सचिवसहितका कर्मचारी अन्य भवनमा हुँदा कार्य सम्पादनमा भने असहज हुने गरेको छ । 

मन्त्री एकातिर सचिवसहितका कर्मचारी अर्कै भवनमा बस्दा बैठक, समन्वय र सहकार्यमा समेत समस्या हुने गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘एकै ठाउँमा नहुँदा कतिपय निर्णय र समन्वयात्मक कार्यमा समस्या हुने नै भयो । स्वास्थ्य अत्यावश्यक क्षेत्र हो, जुनसुकै वेला पनि छलफल वा निर्णय गर्नुपर्ने हुन्छ, तर अहिले सबै एकै छानामुनि छैनौँ । ३० दिनभित्र खानेपानी र स्वास्थ्य मन्त्रालयको संरचना एउटै हुने गरी सञ्चालन गर्ने भनिएको छ । त्यसपछि केही व्यवस्थित होला,’ उनले भने, ‘स्वास्थ्यजस्तो अत्यावश्यकीय सेवा प्रवाह गर्ने मन्त्रालयलाई तीन ठाउँमा राख्नु गलत हो ।’ बुढाथोकीले जेन–जी आन्दोलनयता मन्त्रालयले सहज रूपमा सेवा प्रवाह गर्ने ठाउँ नपाएको बताउँदै अब सहज बनाउनुपर्ने माग गरे । जेन–जी आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका फाइल, कम्प्युटर, फर्निचर सबै खरानी भएका थिए । मन्त्रालयको चारतले भवन नै बस्न नमिल्ने अवस्थामा छ । सहरी विकास मन्त्रालयअन्तर्गतको भवन गुणस्तर नापजाँच टोलीले अनुगमन गरेर सो भवनमा अत्यन्तै जोखिम अवस्थामा रहेको बताएको थियो ।

प्रवक्ता बुढाथोकीका अनुसार हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को भवनमा मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचओसी), गुणस्तर तथा नियमन महाशाखा, जनसंख्या महाशाखा र प्रवक्ताको कार्यालय छ । सिंहदरबारस्थित प्रिफ्याव डब्बामा स्वास्थ्य सचिव, प्रशासनतर्फका सचिव, अतिरिक्त स्वास्थ्यसचिव, नीति योजना अनुगमन महाशाखा प्रमुख, कर्मचारी प्रशासन महाशाखा, समन्वय महाशाखा छन् । 

स्वास्थ्यका सबै कर्मचारीको कार्यकक्ष बसेर काम गरिरहँदा भवन अभावकै कारण स्वास्थ्यमन्त्री मेहता खानेपानी मन्त्रालयमा बसेर काम गर्छिन् । उनले बैठक, फाइल तथा अन्य निर्णयका लागि मन्त्री र कर्मचारीलाई खानेपानी मन्त्रालयमै बोलाउने गर्छिन् । यसरी मन्त्री एकातिर कर्मचारी अर्कोतिर बसेर काम गर्दा कार्य सम्पादनमा समेत फरक पर्न सक्ने प्रवक्ता बुढाथोकीको भनाइ छ । ‘एकै भवनमा हुँदा जति काम गर्न सहज हुन्छ, फरक–फरक ठाउँमा हुँदा कार्यसम्पादन गर्न त्यति सहज हुँदैन,’ उनले भने, ‘मन्त्रीज्यूको कार्यकक्ष सेनाले बनाएको जस्ताको टहरामा थियो, तर त्यहाँ बसेर काम गर्न साँघुरो भएपछि उहाँ खानेपानी मन्त्रालयमै बस्नुभएको छ, भेटघाट र बैठक पनि त्यहाँ नै गर्नुहुन्छ, तर हामीलाई सिंहदरबार बाहिर राख्दा मन्त्रालयमा के–के भइरहेको छ भन्ने थाहा हुँदैन ।’ सरकारले सयदिने कार्ययोजनामै गाभिएका मन्त्रालयलाई ३० दिनभित्र एकै संरचनाअुनसार सञ्चालन गर्ने घोषणासमेत गरेको छ । सोहीअनुसार मन्त्रालयका सबै शाखा–महाशाखा केही दिनमै खानेपानी मन्त्रालयको भवनमै सर्ने प्रवक्ता बुढाथोकीको भनाइ छ । 

सुझावित समाचार