अघि बढ्यो नागरिक उड्डयनमा महानिर्देशक नियुक्ति प्रक्रिया

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमा महादिर्नेशक नियुक्ति प्रक्रिया अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणको रिक्त महानिर्देशक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भक्तपुरको नलिञ्चोकमा हेलिपोर्ट निर्माणका क्रममा साढे १३ करोड भ्रष्टाचार गरेको कसुरमा गत १७ मंसिरमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । अधिकारीमाथि पोखरा विमानस्थलमा भ्रष्टाचार गरेका दुईवटा मुद्दासमेत अदालतमा विचाराधीन अवस्थामा छन् । अधिकारी निलम्बनमा परेपछि उपमहानिर्देशक देवचन्द्रलाल कर्णले निमित्त महादिर्नेशकका रूपमा काम गर्दै आएका थिए ।

मन्त्रालयले प्रतिस्पर्धा गराएर प्राधिकराण्को महानिर्देशक नियुक्ति गर्न लागेको हो । मन्त्रालयले शनिबार सूचना जारी गर्दै नेपाल सरकारको सेवामा वा प्राधिकरणमा कार्यरत योग्य र इच्छुक व्यक्तिबाट सात दिनभित्र आवेदन माग गरेको हो ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ को उपदफा (१) बमोजिम प्राधिकरणको महानिर्देशक पदमा नियुक्त गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाल सरकारको वा प्राधिकरणको सेवामा बहाल रहेका इच्छुक उम्मेदवारहरूले सात दिनभित्र मन्त्रालयमा आवेदन दिन सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयको सूचनामा उल्लेख छ ।
 

सुझावित समाचार