आठ महिनादेखि रिक्त रहेको नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति गर्न सरकारले सिफारिस गठन गरेको छ । ८ वैशाखको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो । योसँगै अब सिफारिस समितिले सुरुदेखि नै अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाउनेछ ।
सिफारिस समितिले सार्वजनिक रूपमा सूचना आह्वान गर्दै प्रस्ताव माग गर्नेछ । प्राप्त आवेदनका आधारमा पाँचजनाको नाम अन्तर्वार्ताका लागि छनोट गरिनेछ । अन्तर्वार्ताबाट तीनजनाको नाम नियुक्तिका लागि मन्त्रिपरिषद्मा पेस गरिनेछ । मन्त्रिपरिषद्ले त्यसबाट एकजनालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ ।
२ भदौमा प्राधिकरणको अध्यक्षबाट शरद ओझा बर्खास्त भएसँगै नयाँ अध्यक्ष नियुक्ति गर्नुपर्ने भएको छ । गत १२ फागुन ०८१ मा तत्कालीन केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले शरद ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो । तर, त्यसमा विवाद आएपछि सरकारले छानबिन समिति बनाएर २ भदौमा ओझालाई बर्खास्ती गरेको थियो ।