गण्डकी सरकारद्वारा पाँच करोडको आपतकालीन कोष स्थापना

गम्भीर बिरामीलाई आर्थिक सहायता दिने निर्णय

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारले संक्रामक रोग नियन्त्रण र उपचारका लागि पाँच करोड रुपैयाँको ‘आपत्कालीन कोष’ निर्माण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले स्वास्थ्य, कर्मचारी प्रशासन र भौतिक पूर्वाधारसँग सम्बन्धित विभिन्न पाँचवटा निर्णय गरेको छ । 

बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले ‘आपत्कालीन स्वास्थ्य सेवा तथा सरुवारोग व्यवस्थापन कार्यविधि, २०८३’ स्वीकृत गरिएको बताए । उनका अनुसार नयाँ सरुवारोग वा महामारी फैलिएको अवस्थामा तत्काल खर्च गर्ने गरी उक्त कोष स्थापना गरिएको हो । यो कोषको रकम ५३ प्रकारका शीघ्र संक्रामक रोगहरूको नियन्त्रण र उपचारमा प्रयोग गरिनेछ ।

कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण
बैठकले ‘गण्डकी प्रदेश निजामती सेवा तथा स्थानीय सेवा कर्मचारीको योगदानमा आधारित निवृत्तिभरण कोष’ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा स्वीकृत गरेको छ । कर्मचारीको भविष्य सुरक्षित गर्न र अवकाशपछिको पेन्सन तथा सुविधालाई व्यवस्थित बनाउन नयाँ ऐन ल्याउन लागिएको मन्त्री शेरचनले बताए ।

१९७ बिरामीलाई आर्थिक सहायता
सरकारले क्यान्सर, मुटुलगायत गम्भीर रोगबाट पीडित १९७ जना बिरामीलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । ती बिरामीका लागि कुल एक करोड ७५ लाख रुपैयाँ प्रदान गरिनेछ ।

चार गाडी किन्न चार करोड निकासा
मन्त्रिपरिषद्ले प्रदेश सचिवालयका लागि चारवटा गाडी खरिद गर्न चार करोड रुपैयाँ निकासा दिने निर्णय गरेको छ । सवारीसाधन खरिद गर्दा वातावरणीय सन्तुलनलाई ध्यान दिँदै विद्युतीय सवारीलाई प्राथमिकता दिइने मन्त्री शेरचनले बताए । 

लिलामी र कार्यविधि संशोधन
सरकारी सम्पत्ति र जिन्सी मालसामानको व्यवस्थापनका लागि पुराना सामग्री लिलाम गर्ने वा मिनाहा गर्ने निर्णयसमेत बैठकले गरेको छ । यसका लागि हाल कायम कार्यविधिलाई संशोधन गरिएको छ । साथै, बैठकले ‘बजेट कार्यक्रम कार्यान्वयन कार्यविधि (संशोधन) २०८२’ समेत पारित गरेको छ ।

See More On

सुझावित समाचार