पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को इतिहासमा सर्वाधिक रन पछ्याएको रेकर्ड आफ्नो नाममा राखेको छ । १०औँ आइपिएलमा शनिबार दिल्ली क्यापिटल्सले घरेलु मैदानमा पहिलो ब्याटिङ गरी २० ओभरमा २ विकेट गुमाएर २६४ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा पन्जाबले १८.५ ओभरमा चार विकेट गुमाएर २६५ रन जोड्दै रेकर्ड बनाएको हो । यसअघि आइपिएलमा सर्वाधिक रन चेज पनि गर्ने टोली पन्जाब नै थियो । सन् २०२४ को सिजनमा पन्जाबले कोलकाता नाइट राइडर्सले प्रस्तुत गरेको २६१ रनको लक्ष्य सहजै दुई विकेट गुमाएर पूरा गरेको थियो ।
पन्जाबको जितले लोकेश राहुलको १५२ रनको कीर्तिमानी शतकीय इनिङ्स खेर गएको छ । आइपिएलमा पहिलोपटक भारतीय ब्याट्सम्यानले १५० रन बनाउँदा पनि राहुलले दिल्लीलाई जित दिलाउन सकेनन् । उनले केवल ६७ बलमा १५२ रन बनाएका थिए । यसअघि अभिषेक शर्माले आइपिएलमा १४१ रन जोडेका थिए । कीर्तिमानले भरिएको प्रतिस्पर्धामा शतकीय इनिङ्स खेल्दा धेरै बाउन्ड्री प्रहार गर्ने राहुल बनेका छन् । उनले ११९ रन केवल बाउन्ड्रीबाटै प्रहार गरेका थिए । यसअघि दिल्ली क्यापिटल्सका रिषभले १०२ रन बाउन्ड्रीबाट प्राप्त गरेका थिए । पन्जाब र दिल्लीबिच समग्रमा ५२९ रन बनेको थियो । पन्जाबले २६४ रन पछ्याउँदा शशांक सिंह र श्रयश एयरबिचको पाँचौँ विकेटका लागि २६ बलमा ६४ रन महत्वपूर्ण रह्यो ।
शशांकले १० बलमा १९ रन बनाउँदा एयरले ३६ बलमा सात छक्का र तीन चौकाको सहयोगमा ७१ रन जोडेका थिए । पन्जाबले चालू आइपिएलमा अपराजित रहने एक मात्र बनेको छ । पन्जाबले सातै खेलमा जित निकाली १४ अंक जोडेको छ । दिल्लीले सात खेलमा चार हारको सामना गरेको छ । आइपिएलको इतिहासमा व्यक्तिगत सर्वाधिक रन क्रिस गेलको नाममा छ । उनले सन् २०१३ मा बेंग्लोरबाट प्रतिस्पर्धा गर्दै पुनेविरुद्ध १७५ रन जोडेका थिए । यो रेकर्ड अहिलेसम्म छ । दोस्रो स्थानमा कोलकाताका ब्रेन्डान म्याककुलम छन् । सन् २००८ मा उनले बेंग्लोरविरुद्ध १५८ रन बटुलेका थिए ।
२२० रनको बलियो साझेदारी
पहिलो ब्याटिङ गरेको दिल्लीले विशाल योगफल खडा गर्नु पहिले राहुल र नीतीश रानाले दोस्रो विकेटका लागि उत्कृष्ट साझेदारी गरेका थिए । दुवैले दोस्रो विकेटका लागि २२० रनको साझेदारी गरेका थिए । दिल्लीले सुरुवाती पहिलो विकेट २८ रनमा गुमाएको थियो । त्यसपछि राहुल र नीतीशबिच उत्कृष्ट साझेदारी भयो । दुवैले २.४ देखि १८.३ ओभरसम्म ब्याटिङ गरेका थिए । नीतीशले ४४ बलमा ११ चौका र चार छक्का प्रहार गरी ९१ रनको बनाए । लोकेशले १६ चौका र ९ छक्का प्रहार गरे ।