- केन्द्रदेखि पालिका कमिटीसम्मको नेतृत्वमा अधिकतम दुई कार्यकालको सीमा, उम्मेदवार छनोटमा प्राइमरी इलेक्सनको प्रस्ताव
एमालेलाई नयाँ युगसुहाउँदो आधुनिक र गतिशील पार्टी बनाउन भन्दै १५ बुँदे सुधारको खाका प्रस्तावित गरिएको छ । एमालेमा विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर अभियान चलाउन खोजेका जनवर्गीय संगठनको नेतृत्वमा रहेका युवाहरूको एउटा समूहले पार्टी पुनर्जागरणका लागि १५ बुँदे अवधारणापत्र बहसका लागि प्रस्ताव गरेको हो । पार्टी पुनर्गठनका लागि दबाब दिन विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर अभियान चलाउन खोजेका गजेन्द्र थपलिया, उपेन्द्र शाही, कमल जोशीसहित एक दर्जन युवाले पार्टीको पुनर्गठन र रूपान्तरणका लागि ‘नेक्स्ट जेन एमाले’ अवधारणासहित विस्तृत छलफलपत्र सार्वजनिक गरेका हुन् ।
प्रस्तावित बुँदामा ‘शून्य पूर्णकालीन कार्यकर्ता’को विषयले प्राथमिकता पाएको छ । अब पार्टीका नेता तथा कार्यकर्ता राजनीतिमा मात्र निर्भर नभई अनिवार्य रूपमा कुनै न कुनै पेसा वा व्यवसायमा संलग्न हुनुपर्ने र पार्टीले त्यसका लागि प्रोत्साहन गर्ने उल्लेख छ ।
‘नेक्स जेन एमाले : जनतातर्फ, जडतर्फ’ भन्ने मूल नारासहित तयार पारिएको प्रस्तावमा पार्टीलाई वैचारिक स्पष्टता, संगठनात्मक चुस्तता र कार्यशैलीगत उत्तरदायित्वतर्फ रूपान्तरण गर्नुपर्नेमा जोड दिइएको अवधारणापत्र निर्माणमा संलग्न अनेरास्ववियुका उपमहासचिव कमल जोशीले बताए । ‘पार्टीको पुनर्जागरणका लागि तीन आधार र १५ वटा नीतिगत सुधार प्रस्ताव गरिएको छ, जसको उद्देश्य पार्टीलाई थप लोकतान्त्रिक, उत्तरदायी, जनमुखी र प्रभावकारी बनाउनु हो,’ जोशीले भने । अवधारणापत्रले पार्टी पुनर्जागरणका लागि तीन मुख्य आधार अघि सारेको छ– रूपान्तरणसहितको पुस्तान्तरण, जनतातर्फ फर्किने नीति र जडस्तर (ग्रासरुट) सँग पुनः जोडिने अभियान ।
पार्टीभित्र खुला बहस र समीक्षा संस्कृतिलाई संस्थागत गर्नुपर्ने, निर्णय प्रक्रियामा पारदर्शिता बढाउनुपर्ने तथा नागरिक समाज र कार्यकर्ताबाट नियमित सुझाव संकलन गर्ने प्रणाली विकास गर्नुपर्ने उल्लेख छ । आधुनिक राजनीतिक अभ्यासअनुसार ‘ओपन कन्सल्टेसन’ र ‘पार्टी–समाज संवाद’लाई सुदृढ बनाउँदै पार्टीलाई बन्द संरचनाबाट खुला र उत्तरदायी संरचनातर्फ लैजानुपर्ने प्रस्ताव गरिएको छ ।
नीतिगत सुधारतर्फ केन्द्रदेखि पालिका कमिटीसम्मको नेतृत्वमा अधिकतम दुई कार्यकालको सीमा, निर्वाचन पराजयपछि नेतृत्वको अनिवार्य जवाफदेहिता हुने गरी वैधानिक व्यवस्था, आमसंगठित सदस्यबाट प्रत्यक्ष मतदानबाट नेतृत्व चयन, उम्मेदवार छनोटमा प्राथमिक प्रणाली (प्राइमरी), तथा अनुसन्धानमा आधारित नीति निर्माणलाई प्राथमिकतामा राखेको छ । साथै, जनसंगठनहरूमा वैचारिक स्पष्टता र सांगठनिक स्वायत्तता सुनिश्चित गर्दै वैज्ञानिक मूल्यांक प्रणाली लागू गर्नुपर्ने सुझाव प्रस्ताव गरिएको छ ।
अवधारणापत्रले एमालेभित्र ‘पुनर्जागरण’को आवश्यकता औँल्याउँदै पार्टीलाई पुनः जनमुखी, विश्वसनीय र प्रभावकारी शक्तिका रूपमा स्थापित गर्न साहसिक नीतिगत र संरचनात्मक सुधार अनिवार्य रहेको निष्कर्ष प्रस्तुत गरेको छ । एमालेसम्बद्ध नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले पार्टीभित्रको कुनै पनि समूहको छलफल र निर्णयका आधारमा भन्दा पनि पार्टीलाई पुनर्जागृत र पुनर्निर्माण गर्नुपर्छ भन्ने अभिमत राख्नेहरूको तर्फबाट स्वतःर्स्फूत प्रस्ताव अगाडि सारिएको बताए । ‘पार्टीलाई रूपान्तरण गर्नुपर्छ भन्ने पक्षमा रहेका सबैले आ–आफ्ना सुझाव राखिरहेकै छन्,’ थपलियाले भने, ‘हामीले पनि स्वतःर्स्फूत प्रस्ताव गरेका हौँ, सुझाव आइरहन्छ, प्रस्ताव पनि थप समृद्ध बन्दै जान्छ ।’
चुस्त संरचना र विज्ञताको माग
पार्टीका कमिटीलाई भद्दा हुनबाट जोगाउन ‘पिरामिड शैली’को संरचना बनाउने प्रस्ताव गरिएको छ । बाहिर रहेका दक्ष व्यक्तिलाई पार्टीमा जोड्न ‘ल्याटरल इन्ट्री’को ढोका खोल्नुपर्ने प्रस्ताव छ । त्यस्तै, नेताहरूलाई जिम्मेवारी दिनुअघि उनीहरूको क्षमता र पृष्ठभूमिको ‘अनिवार्य स्क्रिनिङ’ गरिनुपर्ने राय छ ।
एमाले सुधारका लागि प्रस्तावित १५ बुँदा
अधिकतम दुई कार्यकालको व्यवस्था । जनसंगठनमा वैचारिक सामीप्यता, सांगठनिक स्वायत्तता । विधानमै निर्वाचन पराजयको अनिवार्य जवाफदेहिता । अनुसन्धानमा आधारित नीति र कार्ययोजना । कार्यकर्ताको प्रत्यक्ष मतदानबाट पार्टी नेतृत्व । ल्याटरल इन्ट्रीको व्यवस्था । अनिवार्य प्राइमेरीको व्यवस्था । पिरामिड शैलीका कमिटीगत संरचनाहरू । वैज्ञानिक मूल्यांकन प्रणाली र विज्ञतामा आधारित विषयगत जिम्मेवारी । जिम्मेवारी दिनुपूर्व अनिवार्य स्क्रिनिङ (पृष्ठभूमि जाँच) । नेतृत्व विकास सम्बन्धमा वैज्ञानिक प्रणालीको आवश्यकता । भ्रष्टाचारजन्य गतिविधिप्रति शून्य सहनशीलता । पार्टीमा अग्रजहरू रहेको मार्गनिर्देशन कमिटी । समाजमा रोलमोडल हुन सक्ने नेता कार्यकर्ता । पेसा व्यवसायप्रति प्रोत्साहन र शून्य पूर्णकालीन कार्यकर्ता ।