प्रेरक प्रसंग : सन्त कबिर र ब्राह्मण

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

एकपटक सन्त कबिरदास बिहानै गंगास्नान गरिरहेका थिए । त्यसैवेलामा चारजना ब्राह्मण पनि गंगास्नान गर्नका लागि गंगाको किनारमा पुगे । तर, उनीहरूसँग नदीको जल उबाउने लोटा थिएन । पानी अत्यन्त चिसो थियो र नदी निकै गहिरो पनि थियो । यसैले चारैजना ब्राह्मण त्यही गंगाकिनारमा बसेर आफ्नो हातले पानी उबाएर बडो अप्ठ्यारोसित नुहाउने असफल प्रयास गरिरहेका थिए । 

सन्त कबिरले यो सब धेरै समयदेखि हेरिरहेका थिए । जब उनले उनीहरूको अप्ठ्यारो हेरेर बस्न सकेनन्, तब आफ्नो लोटा बालुवाले सफा गरेर गंगाजलले धोए । अनि, उनले सो लोटा ब्राह्मणतिर बढाउँदै भने, ‘विनालोटा नुहाउन तपाईंहरूलाई अप्ठ्यारो भइरहेको छ । त्यसैले, मेरो यो लोटा लिनुस् र सजिलोसित नुहाउनुस् ।’ उनको कुरा सुनेर ती ब्राह्मणले कबिरको शिरदेखि पाउसम्म नियाले । उनीहरूमध्येका एकजनाले भने, ‘तिम्रो कुरा त ठिकै हो । तर, तिमी एउटा जुलाहा हौ । जुलाहाको लोटाले नुहाउँदा हामी भ्रष्ट हुँदैनौँ र ? त्यसैले तिम्रो प्रस्तावका लागि धन्यवाद । तर, हामी तिम्रो लोटाले नुहाउन असमर्थ छौँ ।’

उनको जवाफ सुनेपछि गम्भीर हुँदै कबिरले भने, ‘उसो भए त यो गंगाजल पनि अपवित्र भयो । किनकि, तपाईंहरूले भन्दा अगाडि मैले यहाँ नुहाइसकेँ । अब तपाईंहरूले आफ्ना लागि अर्को पवित्र गंगा ल्याउनुपर्छ । कहाँबाट ल्याउनुहुन्छ अर्को गंगा ?’ कबिरको जवाफ सुनेपछि चारैजना ब्राह्मणको टाउको लज्जावश निहुरियो । उनीहरूले बुझे, जातपातमा केही राखिएको छैन । त्यसपछि उनीहरूले खुसीसाथ कबिरको लोटा लिए र नुहाउने कार्य सम्पन्न गरे । 

सुझावित समाचार