`रातो मच्छिन्द्रनाथ: पाटनको मुटुमा जीवित परम्परा´ -कलाकार विक्रम श्रेष्ठको एकल कला प्रदर्शनी

शनिबार, १२ बैशाख, २०८३
डिजिटल संस्करण

पाटनमा ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको कला प्रदर्शनी आयोजना गरिएको छ। कलाकार विक्रम श्रेष्ठको एकल कला प्रदर्शनी `रातो मच्छिन्द्रनाथ: पाटनको मुटुमा जीवित परम्परा´ हाल पाटन दरबार स्क्वायर परिसरभित्र रहेको बहादुर शाह बैठकमा सञ्चालन भइरहेको छ।

यो प्रदर्शनी वैशाख १० गतेदेखि १७ गतेसम्म दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ। प्रदर्शनीको उद्घाटन प्रख्यात नेपाली कलाकार किरण मानन्धरद्वारा गरिएको हो।

प्रदर्शनीमा कलाकार श्रेष्ठका कुल २० वटा चित्रकला कृतिहरू प्रस्तुत गरिएका छन्। यी कृतिहरूले रातो मच्छिन्द्रनाथ जात्राको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षलाई जीवन्त रूपमा चित्रण गरेका छन्। विशेष गरी जात्रासँग सम्बन्धित रथयात्रा, परम्परागत अनुष्ठान तथा समुदायको सामूहिक सहभागितालाई गहिरो रूपमा प्रस्तुत गरिएको छ।

कलाकारले आफ्नो कलात्मक दृष्टिकोणमार्फत पाटनको ऐतिहासिक सहरभित्र बाँचिरहेको संस्कृति, विश्वास र परम्पराको निरन्तरता देखाउने प्रयास गरेका छन्। प्रदर्शनीले दर्शकलाई केवल अवलोकनमा सीमित नराखी, एउटा जीवित सांस्कृतिक अनुभवमा डुब्न प्रेरित गर्ने लक्ष्य राखेको छ।

यस प्रदर्शनीले परम्परा र आधुनिक कलात्मक अभिव्यक्तिबिच सेतु निर्माण गर्दै पाटनको सांस्कृतिक पहिचानलाई अझ सशक्त रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

सुझावित समाचार