ओमानविरुद्ध नेपाल ‘ए’ ११५ रनले विजयी

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण
ओमानविरुद्ध नेपाल ‘ए’ ११५ रनले विजयी

तस्बिर : क्यान

एकदिवसीय खेलमा नेपाल ‘ए’ले ओमानसँगको दोस्रो खेलमा सानदार जित निकालेको छ। पहिलो खेलमा ७० रनले पराजित भएको नेपालले दोस्रो खेलमा ११५ रनको जित निकालेको हो।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २८४ रनको योगफल तयार गरेको थियो। नेपालका लागि तीन खेलाडीले अर्धशतक पूरा गरे। इशान पाण्डेले सर्वाधिक ६९ रनको योगदान गर्दा देव खनाल र कुशल मल्लले क्रमशः ६४ र ५७ रन जोडे। सन्दीप जोराले ४२ रन बनाए।

ओमानका लागि जितेनकुमार रामानन्दीले दुई विकेट हात पार्दा सकिल अहमद, नदिम खान, सिद्धार्थ बुकापटनम र वसिम अलीले समान एक विकेट लिए।

जवाफी ब्याटिङ गरेको ओमानले ३६.३ ओभरमा १६९ रन बनाउँदा अलआउट भयो। मुजवीर अलीले सर्वाधिक ४३ रन बनाउँदा जितेनकुमार रमानन्दी २४, विनायक शुक्ला २१ र प्रुथवी माकी १९ रन जोडेर पेभेलियन फर्किए। यसैगरी हम्मद मिर्जा र जतिन्दर सिंहले क्रमशः १८ र १७ रनको योगदान गरे।

ओमानलाई सस्तैमा समेट्न नेपालले उत्कृष्ट बलिङ गर्याे। युवराज खत्रीले ६ ओभरमा मात्र १६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। आकाश चन्द, हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिँदा सन्तोष यादवले एक विकेट हात पारे। विकेटविहीन रहेका देव खनालले पनि तीन ओभरमा मात्र आठ रन दिए।

सुझावित समाचार