कुपिन्डे तालमा ‘कुपिन्डे चलचित्र महोत्सव २०८३’ हुने

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

मिनी राराका रूपमा चिनिने सल्यानको प्रसिद्ध पर्यटकीय स्थल कुपिन्डे तालमा ‘कुपिन्डे चलचित्र पर्यटन महोत्सव–२०८३’ हुने भएको छ । 
वनगाड कुपिन्डे नगरपालिकाको आयोजना तथा रेड चेरी मिडिया प्रा.लि.को व्यवस्थापकीय सहयोगमा वैशाख १२ गते महोत्सव सञ्चालन हुन लागेको हो ।

सरकारले घोषणा गरेको ‘घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्य सूचीमा समावेश कुपिन्डे तालको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, चलचित्र निर्माता–निर्देशक तथा राष्ट्रियस्तरका कलाकारहरूको विशेष उपस्थिति रहने जनाइएको छ ।

महोत्सवमार्फत चलचित्र पर्यटन र स्थानीय कला–संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा स्थानीय लोकनृत्य, वेशभूषा तथा मौलिक सांस्कृतिक प्रस्तुतिसमेत समावेश गरिनेछ ।

नगरप्रमुख कर्णबहादुर बुढाथोकीले प्राकृतिक सौन्दर्यले भरिपूर्ण कुपिन्डे ताललाई चलचित्र पर्यटनसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्य रहेको बताए । उनले भने, ‘स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई संरक्षण गर्दै पर्यटन विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरेका छौँ ।’

चलचित्र निर्देशक चक्रबहादुर चन्दले कर्णालीका लुकेका कथा चलचित्रमार्फत उजागर गर्दै यस क्षेत्रलाई फिल्म तथा पर्यटनको केन्द्र बनाउने उद्देश्यले महोत्सव आयोजना गर्ने जानकारी दिए ।

कुपिन्डे चलचित्र पर्यटन महोत्सव– २०८३ ले यस क्षेत्रको प्रचार–प्रसारसँगै पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । पर्यटन र चलचित्रलाई जोड्ने यस्ता कार्यक्रमले कर्णालीको आर्थिक सम्भावना विस्तार तथा सांस्कृतिक पुनरुत्थानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

वनगाड कुपिन्डे नगरपालिकाले ताल संरक्षण तथा व्यवस्थापनका लागि विस्तृत परियोजना प्रतिवेदन  र वातावरणीय प्रभाव मूल्यांकन तयार गरिसकेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले संघ, प्रदेश, स्थानीय तह तथा दातृ निकायमार्फत आवश्यक पूर्वाधार निर्माण गर्ने योजना रहेको र यस वर्ष केही कार्य अघि बढाइने बताए । योजनाअन्तर्गत ताल संरक्षण, पर्यटन प्रवर्द्धन रिङरोड, भ्यू–टावर र होमस्टे निर्माणलगायतका कार्यक्रम समावेश छन् ।

सुझावित समाचार