- गत शुक्रबार मात्रै रिक्त भएको धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पाँच दिनमै मन्त्रिपरिषद्ले गर्यो समिति गठन, तर आठ महिनादेखि रिक्त प्राधिकरणको अध्यक्ष नियुक्तिमा भएन कुनै पहल
नयाँ सरकार सरकार गठन भएको एक महिना बितिसक्दा पनि बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल बहुमतको सरकारले आठ महिनादेखि रिक्त रहेको प्राधिकरणको अध्यक्ष नियुक्तिलाई बेवास्ता गरेको देखिएको हो । सरकारले गत शुक्रबार मात्रै रिक्त भएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि भने पाँच दिनमै मंगलबार मन्त्रिपरिषद्को बैठकले नयाँ अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टको संयोजत्वमा सिफारिस समिति गठन गरेको छ । गत शुक्रबार सन्तोषनारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट राजीनामा दिएका थिए । तर, आठ महिनादेखि रिक्त रहेको प्राधिकरणको अध्यक्ष नियुक्तिमा भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेन । हाल प्राधिकरणमा अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई दिइएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले यस विषयमा थप बुझेर जानकारी दिने बताए । ‘बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति अगाडि बढेको विषयमा मलाई जानकारी आएको छैन । यसबारे थप बुझेर खबर गर्नेछु,’ उनले भने । अर्थ मन्त्रालय स्रोतका अनुसार यससम्बन्धी प्रक्रिया अहिले यथास्थितिमै छ ।
२ भदौमा प्राधिकरणको अध्यक्षबाट शरद ओझा बर्खास्त भएसँगै नयाँ अध्यक्ष नियुक्ति गर्नुपर्ने भएको हो । यसअघि अन्तरिम सरकारले प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो । तर, निर्वाचन आचार संहिताका कारण त्यसले पूर्णता पाउन सकेन । अहिले निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन भएको पनि करिब एक महिना भएको छ । तर, प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन ।
गत १२ फागुन ०८१ मा तत्कालीन केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले शरद ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो । तर, त्यसमा विवाद आएपछि सरकारले छानबिन समिति बनाएर २ भदौमा ओझालाई बर्खास्ती गर्यो । त्यसपछि सरकारले नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढायो । १५–२१ भदौको म्याद राखेर अध्यक्षका लागि आह्वान गरिएको प्रस्तावमा १४ जनाले आवेदन दिएका थिए । उता ओझाले २२ भदौमा आफ्नो बर्खास्तीविरुद्ध रिट दिए । त्यसमा २३ फागुनमा सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसपछि नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया पनि यथास्थितिमा रहेको थियो । जेन–जी आन्दोलनको प्रभावले अदालत बन्द भएपछि ओझाले लिखित आदेश पाउन सकेनन् । पछि लिखित आदेश आए पनि उनलाई अर्थ मन्त्रालयले प्राधिकरणमा हाजिर गर्न दिएन । उनले तत्कालीन अर्थमन्त्री रामेश्वर खनाललाई अदालतको अवहेलनासम्बन्धी मुद्दासमेत हालेका थिए । तर, बर्खास्तीविरुद्ध र अवहेलनाको मुद्दामा लामो समयसम्म अन्तरिम आदेशका लागि सुनुवाइ भएको थिएन । अन्ततः गत १८ माघमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै अल्पकालीन अन्तरिम आदेश पनि निरन्तर नहुने गरी आदेश गर्यो । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश दिएको थियो । त्ययोसँगै नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाउन बाटो खुला भएको थियो । तर, निर्वाचन आचार संहिताका कारण त्यो तत्काल सम्भव भएन । नयाँ सरकार आएपछि पनि यसको प्रक्रिया अघि बढ्न सकेको छैन ।
यसअघि नै आह्वाान गरिएको दरखास्तमा घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणि शिवाकोटी, ज्ञानेन्द्र अधिकारी, देवकुमार ढकाल, प्राडा, दीपकबहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञप्रसाद न्यौपाने, रमेशकुमार भट्टराई र महेश्वर न्यौपानेले अध्यक्षका लागि आवेदन दिएका छन् ।
प्रक्रियागत रूपमा मन्त्रिपरिषद्ले सिफारिस समिति बनाएर दरखास्त आह्वान गर्नेुपर्ने हुन्छ । त्यसरी दरखास्त दिएकामध्ये पाँचजनालाई अन्तर्वार्ताका लागि छनोट गरिनेछ । अन्तर्वार्ताबाट उत्कृष्ट तीनजनालाई अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ । त्यसमध्येबाट एकजनालाई अध्यक्ष नियुक्त गरिनेछ । अब सरकारले पुरानो प्रक्रिया खारेज गरेर पुनः सुरुदेखि नै प्रक्रिया अघि बढाउन सक्छ । वा, अहिले रोकिएकै प्रक्रियामा म्याद थप गरेर वा सोही विन्दुबाट थप कारबाही अघि बढाउन सक्छ । ‘अहिले आवेदन दिएका मध्येमा सरकारले चाहेको व्यक्ति छ भने यही प्रक्रिया अघि बढ्न सक्छ । अन्यथा म्याद थप पनि हुन सक्छ,’ एक कर्मचारीले भने, ‘यो पूर्णतः सरकारको हातमा छ ।’ पुरानो प्रक्रिया रद्द गर्दा पहिला आवेदन दिनेहरू अदालत जाने जोखिम पनि उत्तिकै छ ।