धितोपत्र बोर्डको जाँचबुझ समितिको निष्कर्ष – भट्ट र ब्रोकरको लेनदेनमा गोल्छाको पैसा प्रयोग

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनी (नेपाल रिइन्स्योरेन्स) को सेयर मूल्य कृत्रिम रूपमा बढाउन दीपक भट्ट र ब्रोकरका कार्यकारी प्रमुख सन्दीप चाचानबिचको मिलेमतोमा गोल्छाले सहयोगी भूमिका खेलेको धितोपत्र बोर्डको जाँचबुझ समितिको निष्कर्ष छ । सोही विषयमा थप अनुसन्धान गर्न समितिले प्रहरीलाई सिफारिस गरेको थियो ।

जाँचबुझ प्रतिवेदनअनुसार भृकुटी स्टक ब्रोकिङ कम्पनीले भट्टलाई एनबिएलडी ८५, एनआइएमबिडी ९०, एसबिआइडी ८३, एसबिएलडी ८९ का ऋणपत्रहरू र नेपाल रिको सेयर खरिद गर्न अग्रिम रकम नलिई सेयर किनबेच गर्न दिएको उल्लेख छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम अग्रिम रकम कम्तीमा २५ प्रतिशत प्राप्त नगरी कारोबार गर्न नहुने उल्लेख छ ।

धितोपत्र कारोबार राफसाफ तथा फर्स्याेट विनियमावली, २०६९ को विनियम १३ बमोजिम कारोबार भएको दिनबाहेक दुई कार्यदिनमा राफसाफ तथा फर्स्याेट गरे तापनि धितोपत्र सोही विनियमावलीको विनियम १६ र १७ बमोजिम खरिदकर्ता ग्राहकबाट रकम लिने र बिक्रीकर्ता ग्राहकलाई रकम दिने कार्य गरेको नदेखिएको प्रतिवेदनमा भनिएको छ । यस कार्यबाट धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३१ को उपनियम (२) को उल्लंघन भएको देखिन्छ ।

यसबाट भट्ट र भृकुटी स्टक दुवैले नियमावली तथा विनियमावलीको व्यवस्था उल्लंघन गरी मिलोमतोमा नेपाल रिको सेयर मूल्य बढाउने उद्देश्य राखेको प्रतिवेदनको निष्कर्ष छ । यसले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा (१) बमोजिमको कसुर गर्ने आधार तयार भएको देखिएको जाँचबुझ समितिको ठहर छ । यसमा लेनदेनको रकम मिलाइदिने काम गोल्छा र उनीआबद्ध कम्पनीहरूबाट भएकाले प्रहरीले थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनले जनाएको थियो ।

त्यस्तै, नेपाल रिको सेयर मूल्य बढाउन दीपक भट्ट र उनका समूहले नेपाल स्टक एक्सचेन्जको प्रणालीलाई नै झुक्याएको अर्को कसुर छ । भृकुटी स्टक ब्रोकिङले एक करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी लगानीकर्तामा गोल्छा र उनीआबद्ध कम्पनीहरू छन् । ब्रोकरले भट्टको सेयर खरिदको रकम नलिई त्यसको राफसाफ गर्न गोल्छा र उनीआबद्ध संस्थाहरूलाई दिन बाँकी रकम नै प्रयोग भएको देखिन्छ । यसबाट पनि दीपक भट्ट, भृकुटी स्टक ब्रोकिङ र गोल्छासमेतको मिलोमतोमा नेपाल रिको सेयर मूल्य बढाउने प्रपञ्च रचेको प्रतिवेदनमा उल्लेख छ ।

यसरी सेयर खरिद–बिक्रीका लागि रकम लेनदेन नगर्ने कार्यबाट बजारमा नेपाल रिको सेयर मूल्यमा कृत्रिम माग सिर्जना गरिएको प्रतिवेदनमा उल्लेख छ । नेपाल रिको सेयर मूल्य ५ साउनको दिउँसो १२ः५६ मा एक हजार ४६१ रुपैयाँबाट १० भदौको दिउँसो ३:५९ सम्ममा एक हजार ६८६ रुपैयाँ १० पैसासम्म पुर्याएको देखिन्छ । यसबाट लगानीकर्ता तथा दोस्रो बजार प्रणालीलाई झुक्याई नेपाल रिको सेयरको मूल्य बढाउने प्रपञ्च रचिएको उल्लेख छ । प्रतिवेदनले यसलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुर ठहर गरेको छ । यस कार्यमा मुख्य रूपमा भट्ट र भृकुटी स्टक ब्रोकिङ तथा सहयोगीको रूपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ता र शेखर गोल्छाको रकम प्रयोग भएको प्रतिवेदनमा उल्लेख छ । 

यी दुवै कसुरमा सहयोगीको रूपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व लि, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंकर लि, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ता र शेखर गोल्छाको रकम प्रयोग भएको देखिएकाले थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय पठाउन उपयुक्त हुने प्रतिवेदनमा औँल्याइएको छ ।

सुझावित समाचार