सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजना करिब ५९ प्रतिशत भौतिक प्रगति

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको काम भइरहेको छ । सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा ६ लेनमा विस्तार भइरहेको छ । विस्तारको काममा करिब ५९ प्रतिशत भौतिक प्रगति भएको हो । आयोजनाका अनुसार सूर्यविनायक–साँगा खण्डमा ४८ प्रतिशत र साँगा–धुलिखेल सडकखण्डमा ७० प्रतिशत भौतिक प्रगति भएको जनाएका छन् । 

बिहीबार अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा संयुक्त अनुगमन गरिएको छ। काभ्रेपलाञ्चोक जिल्लाभित्रका साँगादेखि धुलिखेलसम्मको सडकखण्ड विस्तार कार्यलाई छिटो निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक समन्वय गर्न जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा अनुगमन गरेको हो। सो खण्डअन्तर्गत भइरहेको कामको अवस्था, कामको प्रगति र आइपरेका समस्याका विषयमा आवश्यक समन्वय गर्नुका साथै आउने वर्षायाममा सडक प्रयोग गर्ने सवारीसाधन र यात्रुलाई सहजता प्रदान गर्नका लागि सडक विस्तार कार्यको अवस्थाबारे जानकारी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम र प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी नेतृत्वको टोलीले अनुगमन गरेको हो ।

सडक विस्तार गरिने कुल १५.५ किलोमिटर सडकमध्ये साँगादेखि धुलिखेल ८.४ किलोमिटर सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । सडक विभागका अनुसार ठेक्का रकम चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ रहेको छ । त्यसरी नै सूर्यविनायक–साँगा सडकखण्ड भने ७.५ किलाेमिटर रहेको छ । उक्त खण्डको ठेक्का आशिष–बन्दन भगवती जेभीले तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता गरेको थियो । 

अनुगमको क्रममा निर्माण व्यवसायीले गरिरहेको कामको अवस्था र स्थानीय नागरिकले भोग्नुपरेको समस्याको अवस्थाबारे जानकारी लिएका छन् । सडक विस्तारका क्रममा भइरहेको निर्माण कार्य ढिलाइ र भइरहेको काममा आवश्यक व्यवस्थापकीय कार्य नगर्दा निकै समस्या झेल्नुपरेको स्थानीय बासिन्दाको गुनासो छ । बनेपा नगरपालिकास्थित साँगाका स्थानीय बासिन्दा कृष्ण श्रेष्ठले समयमा काम सम्पन्न नगरिदिँदा बाटोमा हिँडडुल गर्ने र घरमा बस्नेहरूले धुलो खाएर बस्न बाध्य भएको बताए । धुलो व्यवस्थापन गर्न पानी छर्किन आग्रह गर्दासमेत वास्ता नगरेको र सडक निर्माणका लागि सडक सीमांकन राम्रोसँग नभएकाले सडकबिचबाट कतै बढी कतै कम च्यापेर बनाएको गुनासो गरे ।

बनेपा नगरपालिका– १३ का वडासदस्य राजु श्रेष्ठले विकास निर्माणको काम भइरहेको काममा आवश्यक सहजीकरण गरिरहेको भए पनि निर्माण कार्यका कारण भइरहेको अव्यवस्थित सामग्रीका कारण अस्तव्यस्त भएको बताए । आशिष–बन्दन भगवती जेभीका प्रतिनिधि विजय भट्टराईले अन्डरपासका लागि बनाइरहेको खण्डमा ग्राभेल सकाउने गरी काम भइरहेकाले यातायात सञ्चालनमा समस्या नआउने बताए । साँगा क्षेत्रमा दुईतर्फी भइरहेको काममा एकतर्फका सडकलाई बर्खाअगाडि नै कालोपत्रे गरेर साकउने उनको भनाइ छ । सडक निर्माण कार्य सम्पन्न भएपछि काठमाडौंबाट बनेपातर्फ आउने सवारीसाधन अन्डरपास भएर बाहिरिनेछन् भने काठमाडौंतर्फ जाने सवारीसाधन माथिबाट जाने गरी निर्माण हुने उनले जनाएको छ।

साँगा–धुलिखेल सडकखण्डको निर्माण कम्पनी लामा कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का कन्ट्रयक म्यानेजर रवीन्द्र श्रेष्ठले इन्धनको मूल्यवृद्धि, निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र अभाव तथा आवश्यक सामग्री ढुवानीमा समस्या भएको कारण विगत एक महिनादेखि काम सुस्त भएको स्विकारे । वर्षाअगावै तोकिएअनुसारको काम सम्पन्न गर्ने नदेखिए पनि अलिअलि भएको सामग्रीले काम गरिहेको बताएका छन् ।

 सूर्यविनायक–धुलिखेल सडक आयोजनाका आयोजना प्रमुख विजयकुमार महतोले भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मका १५.८ किलोमिटर सडकखण्डमा ६ लेनको सडक विस्तारको काम भइरहेकोमा अहिलेसम्ममा सूर्यविनायकदेखि साँगासम्ममा ४८ प्रतिशत भौतिक प्रगति भएको र साँगादेखि धुलिखेलसम्मको करिब ७० प्रतिशत कामको प्रगति भएको बताएका छन् । धुलिखेलदेखि साँगासम्मको अधिकांश ठाउँमा नाली बनाउने, स्ट्रक्चर निर्माणलगायतको काम ९० प्रतिशत सम्पन्न भइसकेको उनको भनाइ छ । निर्माण कार्य भइरहँदा बर्खामा पहिरो जाने र हिलोका कारण यात्रु र सवारीसाधन सञ्चालनमा समस्या नहोस् भन्नका लागि निर्माण व्यवसायलाई आवश्यक समन्वय र कामको गतिलाई तीव्रता दिन आग्रह गरिरहेको उनको भनाइ छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले काठमाडौंबाट पूर्व जाने मुख्य सडक भएका कारण पनि पछिल्लो समयमा प्रगति कमजोर हुन थालेको हो कि भन्ने अवस्था रहेको कारण कामको गतिलाई बढाउनका लागि आवश्यक समन्वयको काम गरिरहेको बताए । मनसुनको समय आउन लागेको कारण सडक नियमित राख्नका लागि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा आयोजना र निर्माण व्यवसायिसँगै छलफल भएको र वर्षामा सडक अवरुद्ध नहुने गरी सडक सञ्चलान गर्न आफूहरूले काम गर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले अनुगमनका क्रममा निर्माण व्यवसायीलाई परेको समस्या र आमनागपिरकले भोगिरहेको समस्याबारे कसरी समस्या समाधान गर्न सकिन्छ भन्ने विषयमा आवश्यक छलफल र समन्वयका लागि अनुगमन गरेको बताए । विगतका तुलनामा भइरहेको कामको गतिलाई थप बढाउन र मनसुन सुरु हुनुभन्दा अगाडि नै यातायात सञ्चालनमा सहज, व्यवस्थापन गर्न र नागरिकको स्वास्थ्यमा पनि असर नहोस् भन्नका लागि आवश्यक सहयोग र समन्वय गर्ने भूमिका रहेकाले सोहीअनुसार काम गरिरहेको उनको भनाइ छ ।

सो क्रममा निर्माण व्यवसायीले बर्खायामका लागि आगामी एक महिनाभित्रमा यातायात सहज बनाएर नागरिकलाई आवतजावतमा कष्टकर हुने अवस्था हुन नदिने प्रतिबद्धताका साथ आगामी एक महिनाको कार्य तालिका सडक आयोजनालाई बुझाउने र त्यहीअनुसारले कामको प्रगति दिने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको उनले बताए । सडक विस्तार आयोजनाको म्याद गत चैत २०८२ मा सम्पन्न भएको छ ।

सुझावित समाचार