भन्सार महसुलले सीमावर्ती भारतीय बजार सुनसान

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

भारतबाट सय रुपैयाँभन्दा बढीको सामान किनेर ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था लागू भएपछि नेपाली उपभोक्ताले खचाखच हुने धनगढीसँग सीमा जोडिएको भारतीय बजार बनगाउँ यति वेला सुनसान छ । बनगवा बजार पुग्दा नेपाली उपभोक्ताको आवागमन घटेको र सुनसान अवस्था देखिन्थ्यो ।

त्रिनगर नाकाबाट दैनिक एकदेखि डेढ हजार नेपाली बनगाउँ बजारमा किनमेल गर्न जाने गरेका थिए । शनिबार र सार्वजनिक बिदाको दिन त्यो संख्या अझ बढी हुन्थ्यो । कतिपय उपभोक्ता ४३ किलोमिटर टाढा रहेको भारतीय बजार पलियासम्म पुग्ने गर्थे । तर, नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार सीमावर्ती बजारमा किनमेल गर्न जानेको संख्या अहिले करिब ९० प्रतिशतले घटेको छ ।

नाकामा रहेको सशस्त्र प्रहरीको त्रिनगर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन कार्कीका अनुसार जानेलाई पनि सय रुपैयाँभन्दा बढीको सामान ल्याउन नपाइने व्यवस्थाबारे जानकारी गराइँदै आएको छ । जानकारी नपाएर जाने सर्वसाधारणलाई व्यावहारिक रूपमा साना सामान ल्याउन दिने गरिएको उनले बताए । भारतीय रोजगारीबाट फर्किनेहरूले बोकेर ल्याउने प्रयोग भइसकेका सामान भने व्यावहारिकता हेरेर ल्याउन दिने गरिएको छ ।

स्थानीयले उक्त सीमा बढाउन माग गरेका छन् । सीमापारिबाट सामान ल्याउन नपाइने भएपछि महँगोमा दैनिक उपभोग्य वस्तु किन्नुपर्ने अवस्था आएको धनगढी–विशालनगरका भरत विक बताउँछन् । ‘लुगाकपडा, दाल, चिनीजस्ता केही सामान पारि सस्तो पाइन्थ्यो, दुई–चार रुपैयाँ भए पनि बच्थ्यो,’ उनले भने ।

कतिपय स्थानीय उपभोक्ताले भने सय रुपैयाँको सीमाले दैनिक लाखौँ रुपैयाँ बिदेसिनबाट जोगिएको बताउँछन् । धनगढी–५ का महेन्द्र बोगटीका अनुसार सस्तोको लोभमा सीमावर्ती बजार जाँदा कतिपय नेपाली ठगिने गरेका थिए । सरकारले ल्याएको व्यवस्थाले खर्च नियन्त्रण हुनुका साथै राजस्व वृद्धि हुने उनको भनाइ छ ।

त्यस्तै, कञ्चनपुरसँग सीमा जोडिएको बनबासा र नेपालगन्जसँग सीमा जोडिएको रुपइडिहा बजार  पनि उस्तै सुनसान छ । कञ्चनपुरको बेलौरी नगरपालिका–७, पहुलाहका दीपेश चौधरीले सीमावर्ती क्षेत्रका जनतामाथि अन्याय भएको बताए । ‘नेपालमा नपाइने सामान भारतबाट ल्याउनुपर्छ । खेतीपातीका वेला मलखादसमेत सहजै पाइँदैन, भारतबाट ल्याएर प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘सरकारले स्वदेशमै आवश्यक वस्तु सहज रूपमा उपलब्ध गराउनुपर्छ ।’

रुपइडिहाबाट ५ किलो चामलसमेत ल्याउन नदिँदा दैनिक गुजारा गर्न समस्या भएको नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरका सलाउद्दिन शेषले बताए ।
‘मैले दिनमा सात सय कमाउँछु । सस्तो पाइने भएकोले भारतमा गएर पाँच सय रुपैयाँको सामान ल्याउथे,’ उनले भने, ‘अब त ल्याउन दिँदैनन् ।  पेट पाल्न समेत गाह्रो हुने भयो ।’

त्यस्तै, धनगढीकी स्थानीय झुमा चौधरीले सय रुपैयाँभन्दा बढीमा कर लगाउँदा आफूहरू मारमा परेको बताइन् । ‘वनगाउँमा दाल, चिनी, तरकारी, साबुन धनगढीभन्दा सस्तो पाइन्छ । दुई–चार रुपैयाँ भए पनि बचत हुन्छ । तर, सरकारले भन्सार लगाएपछि धनगढीमै महँगोमा किन्नु पर्ने भयो । हामीजस्ता विपन्न मारमा परेका छौं,’ उनले भनिन् ।

खुला सीमाबाट अवैध रूपमा सामान आयात हुन थालेको कतिपय स्थानीय बताउँछन् । ‘त्रिनगर नाकाबाट साइकलमा सामान बोकेर ल्याउनेहरूले खुला सीमा प्रयोग गर्न थालेका छन्,’ एक स्थानीयले सुनाए । पछिल्लो सात दिनको अवधिमा त्रिनगर गुल्मले करिब १४ लाख रुपैयाँबराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

नेपालगन्जको जमुनाहा नाका सुनसान बनेको छ । नाकाबाट ५–१० किलो चामलसमेत ल्याउन नदिँदा दैनिक गुजारा गर्न समस्या भएको नेपालगन्ज उपमहानगरपालिका–१६, जयसपुरका सलाउद्दिन शेषले बताए । ‘मैले दिनमा सात सय कमाउँछु । सस्तो पाइने भएकाले भारत गएर पाँच सय रुपैयाँको सामान ल्याउँथे,’ उनले भने, ‘अब त ल्याउन दिँदैनन् । पेट पाल्नसमेत गाह्रो हुने भयो ।’

किनमेल गर्न रुपइडिहा जानेको संख्या ८० प्रतिशतले घटेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक किरणप्रकाश मल्लले बताए । भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीले नाकामा कडाइ गरेपछि भन्सार शुल्क तिर्नेको संख्यामा वृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । ‘भन्सार शुल्क नतिर्दासम्म यात्रु शाखाको गेट पार गर्न दिन्नौँ । गेट पार गर्न नपाएपछि बाध्य भएर भन्सार शुल्क तिर्नुपर्छ,’ उनले भने । 

त्यसैबिच नेपालगन्जमा किराना, तरकारी र जुत्ता, चप्पलको व्यवसाय बढेको छ । नेपालगन्ज भन्सार कार्यालयले न्यूनीकरण गरेपछि नेपालगन्जको व्यापार, व्यवसायमा सकारात्मक असर परेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बताए ।

सुझावित समाचार