उदयपुरमा आम्दानीको प्रमुख स्रोत बन्दै फलफूल खेती

२९ प्रकारका फलफूलबाट एक वर्षमा साढे ८४ करोड आम्दानी

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

उदयपुरमा फलफूल खेती किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ । भौगोलिक विविधता, अनुकूल जलवायु र कृषकहरूको सक्रियताका कारण जिल्लामा फलफूल उत्पादन उल्लेख्य रूपमा बढेको कृषि ज्ञानकेन्द्र उदयपुरले जनाएको छ । कायालयको तथ्यांकअनुसार जिल्लामा दुई हजार ९०२.५ हेक्टर क्षेत्रफलमा २९ प्रकारका फलफूल खेती हुँदै आएको छ । जिल्लामा १५ हजार ८७१.५ मेट्रिकटन विभिन्न जातका फलफूल उत्पादनबाट वार्षिक करिब ८४ करोड ६९ लाख रुपैयाँबराबरको आम्दानी भएको छ ।

कृषि ज्ञानकेन्द्र, उदयपुरका प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार कुल उत्पादनमध्ये करिब ४० प्रतिशत फलफूल घरायसी उपभोग, कोसेली तथा अन्य प्रयोजनमा प्रयोग हुन्छ । बाँकी ६० प्रतिशतका आधारमा आम्दानी गणना गरिएको छ । ‘यसबाट जिल्लाका किसानले वार्षिक ८४ करोड ६९ लाख रुपैयाँबराबरको आम्दानी गरिरहेका छन्,’ उनले भने ।

उदयपुरमा सबैभन्दा बढी सुन्तला र आँप उत्पादन हुन्छ । पहाडी क्षेत्रको हावापानी अनुकूल भएकाले सुन्तला खेतीले विशेष पहिचान बनाएको छ । ६६८ हेक्टरमा गरिएको सुन्तला खेतीबाट दुई हजार ४०८ मेट्रिकटन उत्पादन भई करिब २४ करोड रुपैयाँबराबरको आम्दानी भएको छ । यस्तै, भित्री मधेश क्षेत्रमा विस्तार हुँदै गएको आँप खेती ५२५ हेक्टरमा फैलिएको छ । जसबाट चार हजार ६६२ मेट्रिकटन उत्पादन भई २१ करोड ४२ लाख रुपैयाँ आम्दानी भएको छ ।

केरा खेती पनि जिल्लामा तीव्र रूपमा विस्तार भइरहेको छ । १७२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट दुई हजार ४०८ मेट्रिकटन उत्पादन भई १८ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, ११३ हेक्टरमा गरिएको कागती खेतीबाट ८३६ मेट्रिकटन उत्पादन भई पाँच करोडभन्दा बढी आम्दानी भइरहेको छ । लिचीबाट करिब तीन करोड ९१ लाख, अम्बाबाट एक करोड ३८ लाख, मेवाबाट एक करोड ५८ लाख र जुनारबाट एक करोड ८८ लाख रुपैयाँ आम्दानी हुने गरेको छ । निबुवाबाट २७ लाख, नास्पातीबाट ७२ लाख, भुइँकटहरबाट ८५ लाख र कटहरबाट एक करोड ८८ लाख रुपैयाँ आम्दानी हुने गरेको तथ्यांक छ । पछिल्लो समय ड्रागनफ्रुट, किबी र एभोकाडोजस्ता उच्च मूल्यका फलफूलको परीक्षण तथा व्यावसायिक खेती पनि सुरु भएको छ । ड्रागनफ्रुट मात्र दुई हेक्टरमा खेती गर्दा १४ मेट्रिकटन उत्पादन भई ५० लाखभन्दा बढी आम्दानी भएको छ ।  

कृषि ज्ञानकेन्द्रका प्रमुख यादवले उदयपुरमा फलफूल उत्पादन बढे पनि कोल्ड स्टोर नहुँदा उत्पादन सिधै बजार पठाउनुपर्ने बाध्यता रहेको बताए । कटारी नगरपालिका– ४ मा करिब चार वर्षअघि निर्माण गरिएको शीतभण्डार जग्गा विवादका कारण प्रयोगविहीन छ । झन्डै २० लाख रुपैयाँ लागतमा बनेको संरचनामा दुई मेट्रिकटनसम्म भण्डारण क्षमता भए पनि सञ्चालन हुन सकेको छैन । यस्तै, बेलका नगरपालिका– १, आम्बासीमा ०७८ मा निर्माण गरिएको पाँच मेट्रिकटन क्षमताको शीतभण्डार पनि विद्युत् जडान नहुँदा प्रयोगमा आउन सकेको छैन । 

See More On

सुझावित समाचार