- नेपाल रिको सेयर मूल्य कृत्रिम रूपमा उचाल्न बिचौलिया दीपक भट्टले उद्योगी शेखर गोल्छा र उनीआबद्ध कम्पनीको रकम चलाएको देखिएपछि तानिए अनुसन्धानमा
नेपाल रिइन्स्योरेन्सको सेयरमा चलेखल गर्न बिचौलिया दीपक भट्टलाई सघाएको नेपाल धितोपत्र बोर्डको जाँचबुझमा देखिएपछि व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गोल्छालाई बिहीबार नक्सालबाट पक्राउ गरेको हो ।
हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छाले इन्फिनिटी होल्डिङ्सका सञ्चालक भट्टलाई नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य उचाल्न सहयोगी भूमिका खेलेको बोर्डको जाँचबुझ समितिको निष्कर्ष थियो । भट्ट र सुलभ अग्रवालदम्पतीले ब्रोकर कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’सँग मिलेमतो गरी धितोपत्र कसुर गरेको र त्यसमा गोल्छाले सहयोगी भूमिका खेलेको ३ वैशाखमा बुझाएको प्रतिवेदनमा उल्लेख छ । जाँचबुझ समितिले गोल्छासहितका व्यवसायीलाई प्रहरीले थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोही आधारमा सिआइबीले उनलाई पक्राउ गरेको हो । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन् ।
सिआइबीका प्रमुख एआइजी मनोज केसीले गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत कसुरमा पक्राउ गरेको जानकारी दिए । ५९ वर्षीय गोल्छासमेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन ब्युरोलाई प्राप्त भएपछि पक्राउ गरेको उनको भनाइ छ । सिआइबीले बिहीबारै काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरेको केसीले बताए ।
धितोपत्र बोर्डको जाँचबुझमा भट्टले सेयर किनबेच गर्न गोल्छासहितका व्यवसायी र कम्पनीलाई भृकुटी ब्रोकिङ कम्पनीमा रकम जम्मा गर्न लगाएको खुलेको छ । भृकुटी ब्रोकिङले भट्टसँग दुई अर्ब ७३ करोड ३३ लाख रुपैयाँ हाराहारी रकम असुल्न बाँकी छ । तर, ब्रोकर कम्पनीले गोल्छालाई ५२ करोड ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । भट्टलाई सेयर किनबेच गर्ने प्रयोजनका लागि गोल्छाले हिमालय सेक्युरिटी बैंकरबाट २२ करोड १९ लाख ७१ हजार रुपैयाँ ब्रोकरको खातामा जम्मा गरिदिएको देखिन्छ । हिमालय सेक्युरिटी बैंकरमा भट्ट र गोल्छा साझेदार रहेको जाँचबुझमा खुलेको छ । यसमा भट्टको ७ प्रतिशत र गोल्छाको व्यक्तिगत स्वामित्व २.५ प्रतिशत छ । गोल्छा तत्कालीन समयमा अध्यक्ष रहेको हिमालयन रिइन्स्योरेन्सको समेत उक्त कम्पनीमा ७५ प्रतिशत स्वामित्व रहेको सेयर लगतमा खुलेको उल्लेख छ । हिमालयन रिमा भट्टको ४.५ प्रतिशत र गोल्छाको २ प्रतिशत सेयर स्वामित्व छ ।
भट्ट र ब्रोकरको लेनदेनमा गोल्छाको पैसा प्रयोग
सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रिइन्स्योरेन्स) को सेयर मूल्य कृत्रिम रूपमा बढाउन दीपक भट्ट र ब्रोकरका कार्यकारी प्रमुख संदिप चाचानबीचको मिलेमतोमा गोल्छाले सहयोगी भूमिका खेलेको धितोपत्र बोर्डको जाँचबुझ समितिको निष्कर्ष छ । सोही विषयमा थप अनुसन्धान गर्न समितिले प्रहरीलाई सिफारिस गरेको थियो ।
जाँचबुझ प्रतिवेदनअनुसार भृकुटी स्टक ब्रोकिङ कम्पनीले भट्टलाई एनबीएलडी ८५, एनआइएमबीडी ९०, एसबीआइडी ८३, एसबीएलडी ८९ का ऋणपत्रहरू र नेपाल रिको सेयर खरिद गर्न अग्रिम रकम नलिई सेयर किनबेच गर्न दिएको उल्लेख छ । धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम अग्रिम रकम कम्तीमा २५ प्रतिशत प्राप्त नगरी कारोबार गर्न नहुने उल्लेख छ । धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ को विनियम १३ बमोजिम कारोवार भएको दिनबाहेक दुई कार्यदिनमा राफसाफ तथा फछ्यौट गरेता पनि धितोपत्र सोही विनियमावलीको विनियम १६ र १७ बमोजिम खरिदकर्ता ग्राहकबाट रकम लिने र विक्रीकर्ता ग्राहकलाई रकम दिने कार्य गरेको नदेखिएको प्रतिवेदनमा भनिएको छ । यस कार्यबाट धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३१ को उपनियम (२) को उल्लंघन भएको देखिन्छ । यसबाट भट्ट र भृकुटी स्टक दुवैले नियमावली तथा विनियमावलीको व्यवस्था उल्लंघन गरी मिलोमतोमा नेपाल रिको सेयर मूल्य बढाउने उद्देश्य राखेको प्रतिवेदनको निष्कर्ष छ । यसले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा (१) बमोजिमको कसूर गर्ने आधार तयार भएको देखिएको जाँचबुझ समितिको ठहर छ । यसमा लेनदेनको रकम मिलाइदिने काम गोल्छा र उनीआबद्ध कम्पनीहरूबाट भएकाले प्रहरीले थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनले जनाएको थियो ।
त्यस्तै, नेपाल रिको सेयर मूल्य बढाउन दीपक भट्ट र उनका समूहले नेपाल स्टक एक्सचेन्जको प्रणालीलाई नै झुक्याएको अर्को कसुर छ । भृकुटी स्टक ब्रोकिङले एक करोड रूपैयाँभन्दा बढी रकम तिर्न बाँकी लगानीकर्तामा गोल्छा र उनीआबद्ध कम्पनीहरू छन् । ब्रोकरले भट्टको सेयर खरिदको रकम नलिई त्यसको राफसाफ गर्न गोल्छा र उनीआबद्ध संस्थाहरूलाई दिन बाँकी रकम नै प्रयोग भएको देखिन्छ । यसबाट पनि दिपक भट्ट, भृकुटी स्टक ब्रोकिङ र गोल्छासमेतको मिलोमतोमा नेपाल रिको सेयर मूल्य बढाउने प्रपञ्च रचेको प्रतिवेदनमा उल्लेख छ ।
यसरी सेयर खरिद बिक्रीका लागि रकम लेनदेन नगर्ने कार्यबाट बजारमा नेपाल रिको सेयर मूल्यमा कृत्रिम माग सिर्जना गरिएको प्रतिवेदनमा उल्लेख छ । नेपाल रिको सेयर मूल्य ५ साउनको दिउँसो १२ः५६ मा १ हजार ४ सय ६१ रूपैयाँबाट १० भदौको दिउँसो ३ः५९ सम्ममा १ हजार ६ सय ८६ रूपैयाँ १० पैसासम्म पुर्याएको देखिन्छ । यसबाट लगानीकर्ता तथा दोस्रो वजार प्रणालीलाई झुक्याई नेपाल रिको सेयरको मूल्य बढाउने प्रपञ्च रचिएको उल्लेख छ । प्रतिवेदनले यसलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसूर ठहर गरेको छ । यस कार्यमा मुख्य रूपमा भट्ट र भृकुटी स्टक ब्रोकिङ तथा सहयोगीको रूपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फण्ड, रोहित गुप्ता र शेखर गोल्छाको रकम प्रयोग भएको प्रतिवेदनमा उल्लेख छ ।
यी दुवै कसुरमा सहयोगीको रूपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व लि, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंकर लि, एचएलआई लार्ज क्याप फण्ड, रोहित गुप्ता र शेखर गोल्छाको रकम प्रयोग भएको देखिएकाले थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय पठाउन उपयुक्त हुने प्रतिवेदनमा औंल्याइएको छ ।
भट्टको मिलेमतो र जालसाजीमा सहयोग गरेको आरोप
गोल्छाले सहयोगी भूमिका निर्वाह गरेको भनिएको कसुरको व्यवस्थालाई धितोपत्र सम्बन्धी ऐन दफा ९६ (१) र दफा ९८ मा जाँचबुझ प्रतिवेदनमा उल्लेख गरिएको छ । दफा ९६ धितोपत्र बजारलाई प्रभावित पार्ने कसुरलाई उल्लेख गरिएको छ । कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरूसँग मिल्ने गितिविधिलाई धितोपत्र बजारलाई प्रभावित गरेको मानिने उल्लेख छ ।
यसमा पनि कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने कसुर आकर्षित हुने प्रतिवेदनले जनाएको छ । यस्तो कसुर पुष्टी भएमा कसुरदारलाई ५० हजार रूपैयाँदेखि एक लाख ५० हजार रूपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ऐनमा व्यवस्था छ । त्यस्तो काम कारबाहीबाट कसैलाई हानी नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानी नोक्सानी समेत भराई दिनु पर्ने भनिएको छ ।
अर्को, दफा ९८ बमोजिमको कसुरमा जालसाजीयुक्त कारोबारको व्यवस्था छ । कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्य लिई देहायका कारोवार गरेमा जालसाजी गरेको मानिने भनिएको छ । कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा, वा कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा यस्तो कसुर गरिएको मानिने उल्लेख छ ।
जालसाजीयुक्त कारोबार गर्नेलाई एक लाख रूपैयाँदेखि तीन लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था छ । त्यस्तै दुई वर्षसम्म कैदको पनि सजाय हुने व्यवस्था छ । त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्ने भनिएको छ ।