- हटाएर पार्टी प्यालेसमा राख्ने, त्यहीँबाट ‘फास्ट ट्रयाक’मा वास्तविक सुकुमवासी पहिचान गर्ने सरकारको योजना
सरकारले बागमती नदीकिनारका सार्वजनिक जग्गामा बसेकाहरूलाई सुकुमवासी बस्ती छाड्न उर्दी गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बुधबार काठमाडौंका सिडिओसहित सुरक्षा निकायका प्रमुखलाई बोलाएर दिएको निर्देशनअनुसार शनिबार डोजर चलाउनुअघि नै बस्ती खाली गर्न बिहीबार साँझदेखि नै माइकिङ गरिएको हो ।
शुक्रबार पनि दिनभर माइकिङ गर्ने र शनिबार बिहानै डोजर चलाउने तयारी छ । डोजर चलाउनुअघि नै नक्कली सुकुमवासी हट्न सक्ने र वास्तविक सुकुमवासी बस्तीमै रहन सक्ने सरकारी अनुमान छ । उनीहरूलाई त्यहाँबाट हटाएर पार्टी प्यालेस, होटेल तथा लजमा राख्ने र त्यहीँबाट ‘फास्ट ट्र्याक’मा वास्तविक सुकुमवासी पहिचान गर्ने सरकारको योजना छ । बागमती नदीकिनारमा थापाथली, सिनामंगल, कालीमाटीलगायत क्षेत्रमा सुकुमवासी बस्ती छ ।
‘नदी तथा सार्वजनिक जग्गामा अनधिकृत रूपमा रहेका घर–टहरा हटाउने तयारी छ, प्रधानमन्त्रीज्यूबाट आदेश आएको छ,’ नेपाल प्रहरीका एक अधिकारीले भने, ‘शनिबार बिहानैदेखि आइतबार दिनभरसम्म हटाएर होटेल, लज तथा पार्टी प्यालेसमा राख्ने कुरा छ, हामीले सोहीअनुसार शान्तिसुरक्षा दिन्छौँ, सरकारको निर्देशन नेपाल प्रहरीले पालना गर्छ ।’
सुकुमवासी बस्ती हटाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन हुनेछन् । संरचना भत्काउन २० भन्दा धेरै डोजर परिचालन गरिने महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जानकारी दियो । सम्भावित झडप रोक्न १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ ।
बुधबार प्रधानमन्त्रीले नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायतको बैठक राखेर सुकुमवासी बस्ती हटाउन निर्देशन दिएका थिए । यसअघि काठमाडौं महानगरपालिकाको मेयर छँदा नै बालेनले थापाथलीस्थित सुकुमवासी बस्ती हटाउने प्रयास गरेका थिए । तर, त्यति वेला उनको प्रयास असफल भएको थियो । अहिले शक्तिशाली प्रधानमन्त्री बनेका वेला उनले आफ्नो पुरानै योजनामा हात हाल्न लागेका हुन् ।
‘तत्काललाई सुकुमवासीलाई त्यहाँबाट होटेल तथा लजमा सार्ने, कसैलाई पार्टी प्यालेसमा राख्ने, त्यहीँ लगत संकलन गरेर वास्तविक सुकुमवासी पहिचान गर्ने र उनीहरूलाई वासको व्यवस्था गर्ने निर्णय भएको छ,’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘सुकुमवासीको नाममा नदीकिनार क्षेत्रमा बिचौलियाहरूले हुकुम जमाइरहेका छन्, तर वास्तविक पीडितलाई सरकारले वास तथा राहतको व्यवस्था गर्ने योजना बनाएको छ ।’
तर, संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भने भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीमाथि सरकार निर्मम बन्न थालेको भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको छ । बिहीबार मोर्चाको बैठक बसेको थियो । बैठकले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई कानुनबमोजिम व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलले पनि सुकुमवासीलाई लछारपछार गरी अमानवीय रूपमा हटाउन नहुने बताएकी छिन् । ‘खोलाकिनार क्षेत्रको बस्ती हटाउँदा लछारपछार र अमानवीय व्यवहार गर्नुहुँदैन,’ उनले भनिन्, ‘व्यवस्थापन खोज्नुपर्छ, उनीहरूको वास र गाँसलाई व्यवस्थित गर्न जरुरी छ ।’
यसअघि सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदीकिनार अतिक्रमण गरी बस्दै आएका सुकुमवासी बस्ती खाली गराउन ३ पुस ०८० मा आदेश दिएको थियो । सोही आदेशअनुसार आफू महानगरपालिकाको मेयर छँदा बालेनले नदी खाली गर्न ठुलो संख्यामा प्रहरी, नगर प्रहरी परिचालन गरेको थियो । तर, झडपको स्थिति निम्तिएपछि महानगरपालिका पछि हटेको थियो । त्यति वेला महानगरपालिकाको मेयर रहेका बालेनले केन्द्र सरकारले पर्याप्त सुरक्षाकर्मी नदिँदा सुकुमवासी बस्ती हटाउन नसकेको बताएका थिए ।
भूमि समस्या समाधान आयोगका अनुसार देशभर करिब १५ देखि १६ लाखसम्म सुकुमवासी छन् । जसमध्ये करिब चार हजार काठमाडौं महानगरभित्र छन् ।
त्रासमा सुकुमवासी बस्ती, सरकारलाई चेतावनी
डोजर चलाउने सरकारको तयारीसँगै सुकुमवासी बस्ती क्षेत्र त्रसित बनेको छ । उनीहरूले सरकारको प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् । बस्तीमा डोजर चलाउनुभन्दा पहिले विकल्प दिनुपर्ने, वास्तविक सुकुमवासी पहिचान गर्नुपर्ने, शिक्षा र रोजगार दिनुपर्नेलगायत माग राखेका छन् ।
‘सिधै हटाउँछौँ भन्न पाइँदैन, हामीलाई विकल्प चाहिन्छ । हामी यहाँ रहरले बसेका होइनौँ, तर सरकारले जबर्जस्ती गर्यो भने स्थिति असामान्य हुन्छ,’ बागमती नदीकिनार क्षेत्रमा बस्दै आएका इस्नर विकले भने, ‘पहिले पनि हामीलाई यसरी नै तर्साइएको थियो, अहिले पनि त्यस्तै गरिँदै छ ।’
पटक–पटक लगत संकलन, तर समस्या ज्युँका त्युँ
भूमि आयोगले १४ पटक सुकुमवासीको लगत संकलन गरेको थियो । तर, उक्त लगत संकलन वैज्ञानिक नभएको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका पालिकाले लगत संकलनमै सहभागिता जनाएनन् ।
०७७ मा सुकुमवासी समस्या समाधानका लागि तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो । उक्त आयोगको अध्यक्ष एवं एमालेका नेता देवीप्रसाद ज्ञवालीको कार्यकालमा सुकुमवासी समस्या समाधानका लागि तथ्यांक संकलन नै भएन । करिब डेढवर्षे कार्यकालसम्म पनि आयोगको प्रभावकारिता नदेखिएपछि ०७८ मा खारेज भएको थियो ।
त्यसपछि, कांग्रेस–माओवादीसहितको गठबन्धन सरकारले २५ भदौ ०७८ मा केशव निरौलालाई आयोगको अध्यक्ष बनाएको थियो । त्यसयता आयोगका अध्यक्ष हरिप्रसाद रिजाल छन् । रिजालले हाल बागमती र थापाथली क्षेत्रमा कति सुकुमवासी छन् भनेर यकिन नभएको बताए ।
‘हामीले अरू पालिकाका लगत संकलन गर्यौँ, काठमाडौंमा हुन सकेन, त्यसकारण बागमती नदीकिनार क्षेत्रमा कति सुकुमवासी छन् भन्ने यकिन भएन,’ उनले भने ।
भूमिसम्बन्धी समस्या समाधान आयोग, २०७७ ले गरेको लगत संकलनअनुसार उपत्यकामा ६ हजार सुकुमवासी थिए । त्यो संख्यामा पनि सत्यता नभएको महानगरले दाबी गर्दै आइरहेको छ । ‘त्यस क्षेत्रमा सुकुमवासीभन्दा हुकुमवासी बढी छन्, लगत संकलन पनि पटक–पटक भएको छ, तर वास्तविकभन्दा फाइदा लिनेहरू बढी छन्,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘खोलाकिनार क्षेत्रको जग्गा त्यसरी हडप्न पाइँदैन ।’
‘थापाथली क्षेत्रमा हुकुमवासी पनि’
काठमाडौंको थापाथली क्षेत्रमा सुकुमवासीको नाममा हुकुमवासीले पनि रजाइँ गरेको भेटिएको उपत्यका विकास प्राधिकरणले जनाएको थियो । गत असोज, कात्तिक र मंसिरमा अनुगमन गर्दा ३६ जनाको अन्यन्त्र घरजग्गा भएको भेटिएको प्राधिकरणले जनाएको थियो । यसबाहेक अधिकांश भारतीय नागरिकले खोलाकिनारको क्षेत्र ओगटेर बसेको समेत भेटिएको थियो ।
‘हामीले अनुगमन गर्दा हुकुमवासी बढी थिए, ती पात्रहरूले अन्तबाट मानिस ओसार्ने र यहाँ ल्याएर राख्नेसमेत गर्दै आइरहेका छन्,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘तीनकुने, सिनामंगल क्षेत्रमा पनि थुप्रै हुकुमवासीहरू छन्, एकले अर्कोलाई घरटहरा बनाएर बेचिरहेका छन्, आधाभन्दा बढी त भारतीय नागरिक छन् । कतिपय काठमाडौं र ललितपुरमा रोपनी जग्गा भएकाहरू पनि सुकुमवासी बनेर बसेका छन्, त्यस्तालाई हटाउनैपर्छ ।’