लागुऔषध सेवन गरी सवारी चलाउने आठजना चालक नियन्त्रणमा

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

लागुऔषध सेवन गरी सवारी चलाउने आठजना चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार बुधबार दिउँसो साढे दुई बजेदेखि साढे ४ बजेसम्म चेकजाँच गर्दा आठजना पक्राउ परेका हुन् । रुपन्देहीको ओमसतिया गाउँपालिका– १, ढुटिपिपलस्थित भैरहवा–बुटवल सडकखण्डमा चेकजाँचको  क्रममा उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोली र सिटी अस्पताल भैरहवा रुपन्देहीको प्राविधिक सहयोगमा बुटवल–भैरहवा सडकखण्डमा चल्ने साना–ठुला सवारीसाधनहरूको चालकहरूलाई मादक पदार्थ सेवन तथा लागुपदार्थ सेवन चेकजाँच गरिएको थियो ।

सो चेकजाँचमा आठजना लागुऔषध सेवनकर्ता फेला परेको र उनीहरूलाई नियन्त्रणमा लिई र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको  प्रहरीले जनाएको छ ।    

सुझावित समाचार