संखुवासभाको सिलिचोङ गाउँपालिकामा आयोजित ‘सिलिचोङ अध्यक्ष कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता’को उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ।
बिहीबार भएको फाइनल खेलमा संखुवासभाको सभापोखरी गाउँपालिकालाई हराउँदै षडानन्द नगरपालिकाले उपाधि हात पारेको हो। सभापोखरी गाउँपालिकाले उपविजेतामै चित्त बुझाएको छ। त्यसैगरी, झापाको कन्काई नगरपालिका तृतीय हुँदा भोजपुरको साल्पासिलिछो गाउँपालिका चौथो भयो।
प्रतियोगिताको विजेता षडानन्द नगरपालिकालाई नगद दुई लाख, उपविजेतालाई एक लाख प्रदान गरिँदा तृतीय र चौथो हुने टोलीले क्रमशः नगद ३५ हजार रुपैयाँ र २५ हजार रुपैयाँ पाएका छन्। एक समारोहबिच सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले पुरस्कार रकम वितरण गरेका हुन्।
वैशाख ५ देखि सुरु भएको प्रतियोगितामा संखुवासभा, भोजपुर र झापाका नौ टिमको सहभागिता रहेको सिलिचोङ गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी दिए।