कम्पनी रजिस्ट्रारको कार्यालयले कृत्रिम बौद्धिकता (एआई)मा आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ । कार्यालयले कम्पनी रजिस्ट्रारले प्रदान गर्ने सेवा तथा कार्यालयका बारेमा जानकारी दिन ‘एआई बेस कल सेन्टर’ सञ्चालनमा ल्याएको हो । कार्यालयले ‘९७००००४४१४ मा कल गर्नुहोस् र कम्पनी प्रशासनका विषयमा सूचना र जानकारी प्राप्त गर्नुहोस्’ भन्ने नारासहित बुधबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको हो । यो सेवा चौबिसै घण्टा उपलब्ध हुने बताइएको छ ।
कल सेन्टरले कम्पनी प्रशासन, कार्यालयले प्रदान गर्ने सेवा र यसको प्रक्रिया, कागजातलगायत कार्यालयका कर्मचारीहरूको एक्स्टेन्सन नम्बरसहित सबै विषयमा जानकारी दिने कार्यालयले जनाएको छ ।
‘कम्पनी दर्ता तथा दर्तापश्चात्का क्रियाकलापमा यसले सहायता प्रदान गर्छ,’ कार्यालयको विज्ञप्तिमा उल्लेख छ, ‘सेवाग्राहीलाई सम्बन्धित सबै विषयका सूचना जानकारी उपलब्ध गराउन सक्ने गरी क्रमशः ज्ञान थप गर्दै परिष्कृत र परिमार्जन गरिँदै लगिनेछ ।’