ज्योति विकासको वृक्षारोपण

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

ज्योति विकास बैंक लिमिटेडले सातैवटा प्रदेशमा वृक्षारोपण गरेको छ । बैंकले विभिन्न स्थानमा कार्यक्रम गरी १७ सयवटा बिरुवा रोपेको जनाएको छ । यो कार्यक्रम बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत गरेको बताइएको छ । 

बैंकका अनुसार प्रत्येक प्रदेशमा दुई सय ५० वटा बिरुवा रोपिएको छ । यस पहलमार्फत वातावरणीय सन्तुलन कायम रहने र स्थानीय समुदायमा हरियाली विस्तार, स्वच्छ वातावरणको संरक्षण तथा जनस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने लक्ष्य बैंकले लिएको छ । रोपिएका बिरुवाले दीर्घकालमा स्वच्छ हावाको आपूर्ति, पारिस्थितिक सन्तुलनको संरक्षण तथा दिगो जीवनशैलीको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बैंकको विश्वास छ ।

यस बैंकले १७औँ वार्षिकोत्सवका अवसरमा लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्य गरी देशव्यापी वृक्षारोपण गर्ने घोषणा गरेको थियो । उक्त घोषणाबमोजिम वृक्षारोपण गरिएको हो । बैंकले आगामी दिनहरूमा पनि यस्ता प्रभावमुखी सामाजिक पहललाई निरन्तरता दिँदै जाने बताएको छ ।  

बैंकले खुद मुनाफाबाट विविध समाजिक कार्य गर्दै आइरहेको छ । नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षाका लागि बैंकले ७० वटा न्यानो नानीमार्फत वार्षिक करिब २६ सय शिशुको जीवन रक्षा गर्दै आएको बैंकले जनाएको छ ।

सुझावित समाचार