विगतका अभ्यासभन्दा फरक ढंगले भेटवार्ता सकेर अमेरिकी विदेश सहायकमन्त्री समिर पल कपुर बुधबार स्वदेश फर्केका छन् । सोमबार तीनदिने कार्य भ्रमणमा आएका कपुरले रास्वपा सभापति रवि लामिछानेबाहेक राजनीतिक दलका शीर्ष नेतासँग भेटेनन् भने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग उनको भेट भएन ।
विगतमा उनीभन्दा कनिष्ठ अधिकारी नेपाल भ्रमणमा आउँदा शीर्ष नेता, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म भेट हुने गरेको थियो । यसपटक परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाहेक नेपाली उच्च अधिकारीसँग उनको भेट भएन । प्रधानमन्त्री बालेनले अहिलेसम्म कुनै पनि विदेशी कूटनीतिज्ञसँग द्विपक्षीय भेट गरेका छैनन् । उनले यसअघि छिमेकी भारत, चीनसहित १७ देशका राजदूतलाई सिंहदरबारमा सामूहिक भेट दिएका थिए ।
उच्च कूटनीतिक अधिकारीका अनुसार अमेरिकाका तर्फबाट प्रधानमन्त्री बालेनसँग भेट्ने इच्छा राखिएको थियो । तर, प्रधानमन्त्रीको समय व्यस्तताका कारण परराष्ट्रले कपुरसँग भेटवार्ताको समय मिलाउन नसकिएको सूचना प्रवाह गरेको थियो । रास्वपा सभापति लामिछानेसँग सोमबारको भेटवार्तामा पार्टी, सरकारको प्राथमिकता, अमेरिकासँगको सम्बन्धलगायत विषयमा विस्तृतमा छलफल भएको थियो । ‘रास्वपा सभापतिज्यूसँग समग्र विषयमा छलफल भयो । उहाँले पार्टी र सरकार दुवैको प्राथमिकताबारे कुराकानी गर्नुभयो । दुईजना मन्त्रीहरूसँग भेटवार्ता भइसकेपछि उहाँसँग प्रधानमन्त्रीले गर्नुपर्ने विषय केही पनि थिएन,’ रास्वपाका एक नेताले भने, ‘प्रधानमन्त्री भेट्नै पर्ने विषय र त्यो स्तरका अधिकारी पनि हुनुहुन्थेन । त्यसकारण अहिले जुन स्तरमा भेटवार्ता भए, त्यो फलदायी र उपयोगी भए ।’
कपुर फर्केपछि जारी विज्ञप्तिमा अमेरिकी दूतावासले उनको भ्रमण फलदायी भएको जनाएको छ । ‘उहाँले नेपालको फलदायी भ्रमण सम्पन्न गर्नुभएको छ,’ अमेरिकी दूतावासले भनेको छ । दूतावासले रास्वपा सभापति लामिछाने, परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री वाग्लेसँगको उच्चस्तरीय भेटघाटमा कपुरले अमेरिका–नेपाल साझेदारीलाई अझ प्रगाढ बनाउने र व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेको उल्लेख गरेको छ ।
कपुरले आगामी ‘सेलेक्ट युएसए लगानी शिखर सम्मेलन’मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसँग अमेरिकी लगानीका अवसरहरूबारे विचार आदानप्रदान गरेका थिए । यसैगरी, नेपालको उदीयमान तथा गतिशील प्रविधि क्षेत्रमा थप सहकार्यका सम्भावनाहरू पहिल्याउन उनले अमेरिकी र नेपाली निजी क्षेत्रका साझेदारलाई एक ठाउँमा ल्याएको पनि दूतावासले जनाएको छ । ‘उहाँले बौद्धनाथ स्तूप र पाटन दरबार क्षेत्रको भ्रमण गर्दै नेपालको समृद्ध इतिहास र संस्कृतिको अनुभव पनि लिनुभयो,’ दूतावासले भनेको छ, ‘यी त्यस्ता स्थलहरू हुन् जसको संरक्षणमा अमेरिकाले ‘सांस्कृतिक संरक्षणका लागि राजदूत कोष’मार्फत सहयोग गर्दै आएको छ ।’
सत्तारूढ दलका नेताबाहेक उच्चस्तरीय भेटघाटहरू नहुनुलाई रिक्तताका रूपमा लिन नहुने अन्तर्राष्ट्रिय एवं सामरिक मामिलाविज्ञ विनोज बस्न्यात टिप्पणी गर्छन् । ‘अमेरिकाले नेपालको वर्तमान राज्य संरचनाभन्दा पर, यहाँको राजनीतिक अर्थतन्त्रको आगामी चरणलाई नियालिरहेको एउटा संकेतका रूपमा हेर्नुपर्छ,’ बस्न्यातले भने, ‘कम औपचारिक तर रणनीतिक रूपमा बढी सूक्ष्म अध्ययनमा आधारित भ्रमण रह्यो भन्ने मलाई लाग्छ । राजनीतिक रूपमा अलिकति अन्वेषणात्मक, आर्थिक रूपमा केन्द्रित, औपचारिक शिष्टाचारमा छनोटपूर्ण र पहुँचका हिसाबले यो बहुआयामिक प्रकृतिको देखियो ।’