काठमाडौंका सार्वजनिक स्थान र कार्यालयमा धुम्रपान रोक्नेबारे विज्ञ टोलीसँग छलफल

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको सार्वजनिक स्थान र कार्यालयहरुमा धुम्रपान सेवनलाई निरुत्साहित गर्ने सम्बन्धमा सरोकारवालाहरुबिच रणनीतिक छलफल भएको छ।

बुधबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोल, भाइटल स्ट्राटेजिज एसिया प्रान्तका निर्देशक डा. तारासिंह बम र सुर्तीजन्य पदार्थ रोकथामको क्षेत्रमा काम गर्दै आइरहेको एक्सन नेपालका प्रतिनिधिहरूबिच उक्त विषयमा छलफल भएको हो।

छलफलका क्रममा डा. बमले सबैभन्दा पहिले पब्लिक इन्डोर क्षेत्रमा धुम्रपान सेवन रोक्नु अत्यावश्यक रहेको बताए। ‘अरु देशमा हेर्दा पब्लिक इन्डोर र सार्वजनिक क्षेत्रमा धुम्रपान सेवन गर्न पाइँदैन, यो विश्वव्यापी गाइडलाइन नै हो, डब्लूएचओको गाइडलाइनले पनि यही भन्छ,’ उनले भने, ‘अहिले युवाहरुमा भेपको प्रयोग व्यापक छ, भेप क्याफे, क्लब, बारहरु खोलिएका छन्। यो फेसन नै बनेको छ, त्यसैले धुम्रपानमा चुरोट मात्रै होइन भेपलाई पनि रोक्नुपर्छ।’

उनले अन्य देशमा इन्डोर क्षेत्रमा चुरोट सेवन गरेको भेटिएमा सेवन गर्नेलाई मात्रै नभएर कार्यालयकै प्रमुखलाई समेत कारबाही गर्ने चलन रहेको बताउँदै नेपालमा पनि यस्तो तरिका अपनाउन अनुरोध गरे।

कार्यवाहक प्रमुख डंगोलले सबै सार्वजनिक कार्यालयमा अनुगमन र कारबाही गर्न महानगरपालिकाले आवश्यक कदम चाल्ने बताउँदै यस कार्यमा आवश्यक सहयोग गर्न डा. बमसँग अनुरोध गरिन्। ‘विस्तारै होटल तथा रेष्टुरेन्टहरुमा पनि यसको सेवन कम गर्नको लागि रणनीतिक तरिकारले अघि बढ्छौं,’ डंगोलले भनिन्, ‘चुरोटको धुवाँले वातावरणमा त असर गर्ने नै भयो, अझ चुरोटको ठुटो जहाँतही फाल्ने गरिन्छ।’

उनले स्वयंकसेवकहरुलाई सार्वजनिक स्थानहरुमा धुम्रपान रोक्नको लागि सचेत गराउने, कारबाही गर्नेलगायतका काममा परिचालिन गरिने बताइन्। त्यसको लागि काठमाडौं महानगरपालिकामा रहेको कक्षा ८ भन्दा माथिका विद्यार्थीहरुलाई परिचालन गर्ने तयारी गरिएको छ। त्यस्तै यसलाई प्रभावकारी बनाउन नगर प्रहरी पनि परिचालन गरिने छ।

छलफलका क्रममा महानगरपालिकाले धुम्रपान तथा सुर्तीजन्य पदार्थ रोकथामको लागि परिचालन गर्न लागेका स्वयंसेवकलाई अभिमुखीकरण तथा तालिम दिने, चेकलिष्ट बनाउने, मनिटरीङ गर्नको लागि आवश्यक सहयोग गर्ने डा. बमले बताए।

सरकारले सूर्तिजन्य तथा धुम्रपानलाई निरुत्साहित गर्न सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ जारी गरेको थियो। तर, उक्त ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा हाल धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग बढिरहेको छ। तोकिएको बाहेकका  स्थानहरुमा पनि धुम्रपान सेवन गर्ने क्रम बढ्दो छ। यसले सेवनकर्ता मात्रै नभएर नजिकै बस्ने दोस्रो पक्षलाई पनि असर गरिरहेको छ। यदि सेवन गर्न दिने नै हो भने ‘स्मोकिङ जोन’ छुट्याउनुपर्ने सरोकारवालको भनाइ छ। यो ऐनको पर्याप्त कार्यान्वयन गर्ने हो भने नेपालमा सुर्तीजन्य पदार्थ, धुम्रपान र भेपको प्रयोग दरलाई घटाएर नसर्ने रोगको भार कम गर्न सकिने डा. बमको बुझाइ छ।

सुझावित समाचार