सरकारले भन्सार नतिरी भारतीय सीमावर्ती बजारबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउन रोक लगाएपछि जनअधिकार पार्टीले राजविराज भन्सार कार्यालयअगाडि धर्ना दिएको छ। जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवको अगुवाइमा उक्त पार्टीका नेता–कार्यकर्ताले बुधबार तिलाठी कोइलाडी– १ स्थित राजविराज भन्सार कार्यालयअगाडि धर्ना दिएका हुन्।
सरकारले भन्सार कर असुल्ने नाममा नेपाल र भारतबिचको रोटीबेटीको सम्बन्धमा नै खलल पुर्याउने नियतले हास्यास्पद नियम लगाएको अध्यक्ष यादवले आरोप लगाए। खासगरी सीमा क्षेत्रका मधेशी जनतालाई सास्ती दिने गरी भन्सारमा लगाइएको उक्त नियम तत्काल खारेज गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए।
महँगीमाथि सरकारको नियन्त्रण नरहेको भन्दै अध्यक्ष यादवले भने, ‘खाद्यान्न, इन्धनलगायत दैनिक उपभोग्य मालवस्तुको भाउ दिनदिनै बढ्दै गएको छ। तर, सरकार कर असुल्ने धन्दामा मात्रै केन्द्रित छ।’ सरकारले भन्सारमा लगाएको नियमलाई उनले मधेशमाथिको अघोषित नाकाबन्दी भएको टिप्पणी गरे।