विपक्षी दलहरूले विवादास्पद व्यापारीसँग सेयर कारोबार गरेका गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले, श्रम संस्कृति पार्टी र राप्रपाले गृहमन्त्री गुरुङमाथि नैतिक प्रश्न उठाउँदै मार्गप्रशस्त गर्नसमेत भनेका छन् । कांग्रेसले गुरुङमाथिका सम्पूर्ण आरोपको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न माग गरेको छ ।
गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको प्रस्ट्याउँदै कांग्रेसले उच्चस्तरीय छानबिनको माग गरेको हो । छानबिनको विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउनेतर्फ कांग्रेसले सचेत गराएको छ ।
एमालेले गृहमन्त्री गुरुङ जोडिएको पछिल्लो प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न माग गरेको छ । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले मंगलबार जारी गरेको विज्ञप्तिमा कुनै पनि अनुसन्धान शक्ति वा प्रभावबाट मुक्त हुनुपर्ने भन्दै गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयमा गहिरो छानबिन गर्न आग्रह गरेको छ । एमालेले गृहमन्त्री स्वयंले अनुसन्धान प्रक्रियालाई सहज बनाउन मार्गप्रशस्त गर्नुपर्ने पनि माग गरेको छ ।
श्रम संस्कृति पार्टीले गृहमन्त्री गुरुङलाई राजीनामा दिन सुझाएको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले मंगलबार पत्रकार सम्मेलन गरी दिनदिनै विवादमा आउनु ठिक नभएको भन्दै गृहमन्त्री गुरुङले मार्गप्रशस्त गर्नुपर्ने बताए । राप्रपाले पनि गृहमन्त्री गुरुङको विषयमा सरकार र रास्वपाले जवाफ दिनुपर्ने माग गरेको छ ।
यसैबिच, गृहमन्त्री गुरुङले बैंकबाट ऋण लिएर सेयरमा लगानी गरेको प्रस्टीकरण दिएका छन् । विवादित व्यापारी दीपक भट्टसँग नाम जोडिएपछि सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिँदै उनले ऋण लिएर सेयरमा लगानी गरेको र सबै कारोबार बैंकिङ च्यानलबाटै भएको स्पष्ट पारेका हुन् ।
‘२५ लाखको सेयर लुकाइएको भनिएको छ । वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन् । मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर दुई करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो । यो लुकाउने होइन, वर्गीकरणको विषय हो । सिधा कुरा, लुकाउने मान्छेले खुला रूपमा दुई करोडभन्दा बढी सम्पत्ति देखाउँदैन,’ गुरुङले भनेका छन् ।