धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनको निष्कर्ष
- बिचौलिया दीपक भट्टले परिवार र आफूआबद्ध संस्थामार्फत कानुनविपरीत शून्य भुक्तानीमै गरे अर्बौँको सेयर कारोबार, अझै तीन अर्ब तिर्न बाँकी, सर्वसाधारणले पाउँदैनथे सेयर बेचेको रकम
धितोपत्र बोर्डको जाँचबुझमा बिचौलिया दीपक भट्ट पुँजीबजारमा कृत्रिम रूपमा सेयर मूल्य बढाउने योजनामा संलग्न रहेको देखिएको छ । भट्टले ब्रोकरसँग मिलेमतो गरी परिवार र आफूआबद्ध संस्थामार्फत कृत्रिम रूपमा सेयर मूल्य उचाल्न चलखेल गरेको बोर्डले गठन गरेको जाँचबुझ समितिले निष्कर्ष निकालेको हो । चलखेलमा व्यवसायीहरू सुलभ अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर, शेखर गोल्छालगायतको पनि संलग्नता देखिएको समितिको ठहर छ ।
धितोपत्र बोर्डले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुलभ अग्रवाल र उनका छोरा कृषिवले उक्त कम्पनीको भित्री कारोबार गरेको हुन सक्ने सम्बन्धमा जाँचबुझ गर्ने निर्णय १७ चैतमा गरेको थियो । बोर्डको निर्णयअनुसार जाँचबुझ अधिकृत दीपेश ताम्राकारको नेतृत्वमा गठित समितिले ३ वैशाखमा प्रतिवेदन बुझाइसकेको छ । अग्रवाललगायतसँग मिलेर इन्फिनिटी होल्डिङ्सका सञ्चालक दीपक भट्ट पुँजीबजारमा कृत्रिम रूपमा सेयर मूल्य बढाउने योजनामा संलग्न रहेको जाँचबुझ समितिको निष्कर्ष छ । धितोपत्र बोर्डको सुपरिवेक्षण तथा विभिन्न निकायबाट संकलित कागजातको विश्लेषण गर्दा सेयर ब्रेकर भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिबिच मिलेमतोमा यस्तो कार्य भएको देखिएको छ ।
जाँचबुझ प्रतिवेदनअनुसार भृकुटी स्टकका कार्यकारी प्रमुख सन्दीप चाचानसँगको मिलेमतोमा अग्रिम रकम नै नदिई भट्ट, अग्रवाल, शाह, मोर र गोल्छालगायतले ठुलो परिमाणमा सेयर कारोबार गरेको भेटिएको छ । ब्रोकर कम्पनीले कम्तीमा २५ प्रतिशत अग्रिम रकम अनिवार्य लिएर मात्रै सेयर कारोबार गर्न दिनुपर्ने प्रचलित व्यवस्था छ । तर, उनीहरूले कत्ति पनि रकम नतिरी अर्बौँ रुपैयाँबराबरको सेयर किनबेच गरेको देखिएको छ । जाँचबुझ प्रतिवेदनअनुसार यो कार्यमा भट्ट नै ‘मास्टर माइन्ड’को भूमिकामा थिए ।
प्रचलित व्यवस्थाविपरीत शून्य भुक्तानीमै अर्बौँको सेयर कारोबार
भट्टले ०८२ को ५ साउनदेखि १ चैतसम्म करिब ३ अर्ब ८० करोड रुपैयाँबराबरको सेयर खरिद गरेका छन् । करिब ९३ करोड रुपैयाँको सेयर बिक्री गरेका छन् । तर, यस अवधिभर उनले ब्रोकरलाई कत्ति पनि रकम भुक्तानी नगरेको जाँचबुझमा देखिएको छ । करिब २ अर्ब ८९ करोड रुपैयाँ उधारो अझै बाँकी रहेको देखिन्छ । यो अवस्था हेर्दा ब्रोकर कम्पनीले आफ्ना अन्य ग्राहकहरूको रकम प्रयोग गरेर भट्टको कारोबार राफसाफ गरेको जाँचबुझ प्रतिवेदनको ठहर छ । यसरी अन्य लगानीकर्ताको रकम ‘नेटिङ’ प्रणालीमार्फत प्रयोग गरेर अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ ।
कृत्रिम माग सिर्जना, मूल्यमा अस्वभाविक वृद्धि
जाँचबुझ प्रतिवेदनअनुसार भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिबिच मिलेमतोमा गरिएको कारोबारबाट बजारमा कृत्रिम माग सिर्जना गरिएको थियो । परिणामस्वरूप, नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य छोटो अवधिमा उल्लेखनीय रूपमा बढाइएको देखिन्छ । ५ साउन ०८२ मा प्रतिकित्ता एक हजार ४६१ रुपैयाँ रहेको मूल्य १० भदौमा एक हजार ६८६ रुपैयाँभन्दा माथि पुगेको थियो । वास्तविक लगानी र मागविना यसरी मूल्य बढ्नु बजार हेरफेर भएको प्रतिवेदनको निष्कर्ष छ ।
यो कार्यमा भट्टसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध रहेका विभिन्न कम्पनीहरूको संलग्नता पनि जाँचबुझमा भेटिएको छ । भट्टको स्वामित्वको इन्फिनिटी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलगायत संस्थाको समन्वयमा यो योजना अघि बढाइएको जाँचबुझ प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, अन्य केही वित्तीय संस्था, फन्ड र व्यक्तिहरूको रकमसमेत प्रयोग गरिएको देखिएको छ ।
प्रारम्भिक निष्कर्षअनुसार धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको दफा ९६ र ९८ अनुसार कसुरको आधार तयार भएको देखाएको छ । यी दफाहरूले बजारमा भ्रम सिर्जना गर्ने, कृत्रिम मूल्य निर्धारण गर्ने र लगानीकर्तालाई झुक्याउने गतिविधिलाई दण्डनीय ठहर गरेको छ । सेयर मात्र होइन, ऋणपत्र (डिबेन्चर) कारोबारमार्फत पनि मूल्य हेरफेर गरिएको प्रतिवेदनको निष्कर्ष छ । भट्टले आफू प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका कम्पनीहरूको सञ्जाल प्रयोग गरी योजनाबद्ध रूपमा ऋणपत्रको मूल्य बढाएको देखाएको छ ।
उनले एनबिएलडी ८५ नामक ऋणपत्र हिमालयन रिइन्स्योरेन्स कम्पनीबाट प्रतिकित्ता १ हजार ८० रुपैयाँमा खरिद गरेका थिए । त्यसको एक हप्ताभित्रै उनले सोही ऋणपत्र आफूले प्रभाव राख्ने विभिन्न कम्पनीहरूलाई १ हजार एक सयदेखि १ हजार १८५ रुपैयाँसम्मको मूल्यमा बिक्री गरेका थिए । जुन कम्पनीहरूमा उनको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व रहेको जाँचबुझ समितिले औँल्याएको छ । गार्डियन माइक्रो लाइफ, क्रेस्ट माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीमा उनको स्वामित्व देखिएको हो । आफैँले किनेको सेयर आफ्नै नियन्त्रणमा रहेका कम्पनीलाई उच्च मूल्यमा बेचेर कृत्रिम नाफा सिर्जना गरेको जाँचबुझ प्रतिवेदनमा उल्लेख छ ।
एसबिएलडी ८९ ऋणपत्रमा पनि उस्तै प्रवृत्ति देखिएको छ । भट्टले हिमालयन रिइन्स्योरेन्सबाट ३ लाख ३८ हजारभन्दा बढी कित्ता खरिद गरी त्यसको ठुलो हिस्सा आफ्नै स्वामित्व वा प्रभाव भएका कम्पनीहरू नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ, क्रेस्ट माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ । यो कारोबारमा माग र आपूर्तिको स्वच्छ प्रक्रियाभन्दा पनि मिलेमतोको किनबेच देखिएको अनुसन्धानको निष्कर्ष छ ।
स्वार्थको द्वन्द्व
जाँचबुझ प्रतिवेदनले भट्टको स्वार्थको द्वन्द्वलाई पनि उजागर गरेको छ । भट्ट स्वयं हिमालयन रिइन्स्योरेन्सका आधारभूत सेयरधनी हुन् । खरिदकर्ता कम्पनीहरूमा पनि उनको प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रण छ । यसले ‘स्वार्थको द्वन्द्व’सँगै योजनाबद्ध रूपमा मूल्य बढाउने ‘सर्कुलर ट्रेडिङ’ भएको प्रतिवेदनमा उल्लेख छ । यसले वास्तविक लगानीकर्तालाई भ्रममा पार्ने र बजारको स्वाभाविक मूल्य निर्धारण प्रक्रियालाई विकृत पार्ने जोखिम हुने ठहर गर्दै जाँचबुझ समितिको यस्तो गतिविधि धितोपत्रसम्बन्धी ऐन, २०६३ का दफा ९४, ९५ र ९८ अन्तर्गत पर्ने सम्भावित कसुर भएको जनाएको छ । यो प्रकरणले सेयर बजारपछि ऋणपत्र बजारमा समेत ‘इनसाइड नेटवर्क’ प्रयोग गरी मूल्य हेरफेर हुने गरेको तथ्य उजागर गरेको छ ।
आफ्नै परिवारबाट ऋणपत्र खरिदबिक्री
दीपक भट्टसँग सम्बन्धित ऋणपत्र कारोबारमा थप गम्भीर अनियमितता भेटिएको छ । प्रारम्भिक जाँचबुझअनुसार उनले आफू र आफ्नै परिवार तथा सम्बन्धित कम्पनीहरूको सञ्जाल प्रयोग गरी योजनाबद्ध रूपमा ऋणपत्रको मूल्य बढाउने काम गरेका छन् । उनले एनआइएमबिडी ९० नामक ऋणपत्र १६ कात्तिक ०८२ मा हिमालयन रिइन्स्योरेन्स कम्पनीबाट १ लाख ४ हजार ४०३ कित्ता खरिद गरेका थिए ।
केही दिनमै २३ र २४ कात्तिकमा सोही ऋणपत्र उनले पत्नी आयुष्मा नेपालको संलग्नता रहेको हिमालयन इन्भेस्टमेन्ट बैंकरद्वारा सञ्चालित एचएलआई लार्ज क्याप फन्डलाई बिक्री गरेका थिए । भट्टले कम मूल्यमा ऋणपत्र किनेर आफ्नै सम्बन्धित संस्थालाई बेचेर लाभ लिएको यो चलखेलले देखाएको छ । जाँचबुझ समितिले उनको यो बदमासीलाई लगानीकर्ता झुक्याउँदै मूल्यवृद्धि गराउने योजनाको हिस्सा मानेको छ ।
एसबिआइडिबी ३ नामक ऋणपत्रमा पनि समान प्रवृत्ति देखिएको छ । भट्टले १६ कात्तिक ०८२ मा ४४ हजार कित्ता खरिद गरी २३ कात्तिकमा सोही फन्डलाई बिक्री गरेका थिए । आफ्नै प्रभाव क्षेत्रभित्र किन्ने र बेच्ने गरी एउटै मोडेलमा बारम्बार कारोबार गरेको प्रतिवेदनको निष्कर्ष छ ।
दीपक भट्टसँगै व्यवसायीहरू सुलभ अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर, शेखर गोल्छालगायतको पनि संलग्नता
धितोपत्र बोर्डको जाँचबुझ समितिले ऋणपत्र र सेयर खरिदबिक्रीमा दीपक भट्टसँगै व्यवसायीहरू सुलभ अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर, शेखर गोल्छालगायतको पनि संलग्नता ठहर गरेको छ । अग्रवाल, शाह र मोरले पनि भट्टलेजस्तै अग्रिम रकम नदिई सेयर किनबेच गरेको जाँचबुझ प्रतिवेदनको निष्कर्ष छ । उनीहरूले पूरा भुक्तानी नगर्दै सेयर आफ्नो खातामा लिँदा बजारमा कृत्रिम माग सिर्जना गरी मूल्य बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । यो कार्यमा हिमालयन रिइन्स्योरेन्स, हिमालय सेक्युरिटिज, हिमालयन क्यापसर्भ, एचएलआई लार्ज क्याप फन्ड तथा नेपाल, गार्डियन, क्रेस्ट, लिबर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सजस्ता संस्थाको संलग्नता देखिएको छ । शेखर गोल्छा र रोहित गुप्ताको रकम पनि प्रयोग भएको अनुसन्धानमा देखिएको छ ।
यी व्यक्ति र संस्थाहरूको कारोबार एउटै आइपी एड्रेस (२०२.१६६.२०६.२४२ र १०.११२.१.२११) बाट सञ्चालन भएको पनि जाँचबुझमा भेटिएको छ । यसले ‘ट्रेड म्यानेज्मेन्ट सिस्टम’ एउटै व्यक्तिले नियन्त्रण गरेको खुलेको छ ।
उनीहरूको केही कारोबारमा वास्तविकतामा स्वामित्व परिवर्तन नगरी झुटो कारोबार गरेको देखाइएको छ । विशेष गरी हिमालयन लाइफ इन्स्योरेन्सको ७५ प्रतिशत स्वामित्व रहेको हिमालय इन्भेस्टमेन्ट बैंकर, हिमालयन रिइन्स्योरेन्सको पूर्ण वा उच्च स्वामित्व रहेका अन्य कम्पनीहरूबिच भएको कारोबार ‘कागजी किनबेच’ (झुटो) रहेको जाँचबुझ समितिको निष्कर्ष छ ।
थप अनुसन्धान गर्न प्रहरीलाई सिफारिस
धितोपत्र बजारमा सेयर मूल्य कृत्रिम रूपमा बढाउन केही प्रभावशाली व्यक्ति र कम्पनीहरूको संलग्नता देखिएको निष्कर्ष निकाल्दै जाँचबुझ समितिले थप अनुसन्धानका लागि प्रहरीलाई सिफारिस गरेको छ । जाँचबुझ प्रतिवेदनअनुसार दीपक भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीका कार्यकारी प्रमुख सन्दीप चाचानले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न प्रावधान उल्लंघन गरेको देखिएको छ । उनीहरूले सेयर बजारमा अवैध गतिविधि गरेको निष्कर्षसहित समितिले मुद्दा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा पठाउन सुझाव दिएको हो । यसमा सुलभ अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहले पनि केही कम्पनीहरूको सेयर मूल्य बढाउन भूमिका खेलेको देखिएको छ । शेखर गोल्छा र रोहित गुप्तालगायतको पनि यसमा सहयोगीको भूमिका देखिएको प्रतिवेदनमा उल्लेख छ । उनीहरूसहित हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापिटल सेवा, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालय सेक्युरिटिज, एचएलआई लार्ज क्याप फन्डलगायत संस्थाको रकम प्रयोग भएको देखिएको छ ।
विशेषगरी नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य बढाउन उनीहरूको संलग्नता देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा हिमालयन लाइफ इन्स्योरेन्स र हिमालय इन्भेस्टमेन्ट बैंकरजस्ता संस्थाहरूले गरेको सेयर कारोबार पनि शंकास्पद रहेको औँल्याइएको छ । उनीहरूले गरेको कारोबारबाट ऐन उल्लंघन भएको देखिएको भन्दै अनुसन्धानका लागि सिफारिस गरिएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको पनि सेयर मूल्य बढाउने लक्ष्यसहित भट्टको नेटवर्क सक्रिय भएको जाँचबुझमा देखिएको छ । यसमा संलग्न देखिएका संस्थाहरूमा हिमालयन रिइन्स्योरेन्स, हिमालय इन्भेस्टमेन्ट बैंकर, एचएलआई लार्ज क्याप फन्ड, हिमालयन क्यापसर्भ, विभिन्न माइक्रो इन्स्योरेन्स कम्पनीहरू र हिमालयन लाइफ इन्स्योरेन्स छन् । यो कार्यमा संलग्नलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ का दफा ९४, ९५, ९६ र ९८ अन्तर्गत पर्ने गम्भीर कसुर हुन सक्ने जाँचबुझ समितिको निष्कर्ष छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढाउनसमेत सुलभ अग्रवाल, ऋषिराज मोर र सन्दीप चाचानको मिलेमतो देखिएको छ । यसमा हिमालयन रिइन्स्योरेन्स र एचएलआई लार्ज क्याप फन्डको समेत भूमिका रहेको उल्लेख गरिएको छ । प्रतिवेदनले सेयर बजारमा मिलेमतोमार्फत मूल्य चलखेल गरिएको निष्कर्ष निकाल्दै सम्बन्धित सबै पक्षमाथि थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिनुपर्ने सुझाव दिएको छ ।