भुर्तेलको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

नेपालले युएईसँगको दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा आठ विकेटको सानदार जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार पहिलो ब्याटिङ गरेको युएईले २० ओभरमा आठ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

नेपालले केवल १५.५ ओभरमा दुई विकेट गुमाएर आठ विकेटको जित निकाल्यो । त्रिवि मैदानमा जित निकालेसँगै दुई खेलको टी–२० आई सिरिज १–१ को बराबरीमा सकिएको छ। यसअघि वर्षाले प्रभावित बनाएको सोमबारको पहिलो खेलमा युएईले नेपाललाई ६ विकेटले हराएको थियो। 

दोस्रो खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय योगदान दिए । उनले ५७ बलमा १२ चौका र दुई छक्काको सहयोगमा ८४ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले १७ बलमा तीन चौकाको सहयोगमा नटआउट २३ रन बटुले। त्यसअघि अर्का बायाँ हाते ओपनर कुशल मल्ल १७ बलमा १९ रन जोडेका थिए। डेब्यु खेलाडी सन्तोष यादव १ रनमा आउट भए। भुर्तेलले मल्लसँग पहिलो विकेटका लागि ७।३ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । भुर्तेलले कप्तान ऐरीसँग तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपाललाई सानदार जित दिलाए। 

टस जितेको नेपालका कप्तान ऐरीले युएईलाई ब्याटिङको निम्तो दिएका थिए। तर, लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट स्पेलमा युएई दोस्रो खेलमा कमजोर देखियो। युएईका लागि दोस्रो टी–२० आई खेलिरहेका अक्षदीप नाथले अर्धशतक बनाउँदै ५३ रन बनाए। उनले ४२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। ओपनर तथा कप्तान मोहमद वासिमलाई हेमन्त धामीले पहिलो बलमै आउट गरे। इनिङ्सको एक समयमा युएईले आठ ओभरमा ६ विकेट गुमाएर ४८ को कमजोर प्रदर्शन गरेको थियो। अक्षदीप नाथ र मोहमद अर्फानबिच सातौँ विकेटका लागि ६४ रनको साझेदारी हुँदा युएई खेलमा फर्कियो। 

बलिङमा सन्दीपले चार ओभरमा एक मेडनसहित ६ रन खर्चेर तीन विकेट लिए । हेमन्त धामीले २ विकेट लिन २० रन खर्चे। नन्दन यादव र शाहब आलमको नाममा समान एक विकेट रहे। नेपालले आइसिसी पुरुष विश्वकप लिग २ को सिरिजअघि त्रिवि मैदानमा युएईसँग टी–२० सिरिज खेलेको हो। त्रिवि मैदानमा नेपाल, ओमान र युएईबिच वैशाख १२ देखि २२ सम्म पहिलो सिरिज हुनेछ।

सुझावित समाचार