घुस दिने ठेकेदार र लिने लेखा अधिकृत दुवैलाई सजाय

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

विशेष अदालतले घुस मुद्दामा दुईजनालाई सजाय सुनाएको छ। मंगलबार विशेषले घुस लिने लेखा अधिकृत र दिने ठेकेदार दुवैलाई दोषी ठहर गरेको हो।

विशेषका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले ६ महिनाअघि दायर मुद्दामा फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत सातौँ तह टंकबहादुर कार्कीले घुस मागेको भनी मुद्दा दर्ता गराएको थियो।

कार्कीले सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपश्चात् भुक्तानीका लागि एक लाख रुपैयाँ घुस मागेका थिए। वडा नं १ देखि ५ सम्म पर्ने सडक स्तरोन्नतिका लागि अन्तिम बिल भुक्तानीबापत उनले ठेकेदार टकबहादुर घर्तीसँग उक्त रकम मागेको भन्दै अख्तियारमा घर्तीले नै उजुरी दिएका थिए।

जसपछि कार्कीले घर्तीबाट रकम बुझ्नेबित्तिकै अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो। अदालतले यस मुद्दामा बरामदी मुचुल्का, मिसिल संलग्न अडियो-भिडियोको संवाद उतार तथा उजुरीकर्ताले मौकामा गरेको बयान आदिलाई आधार मान्दै सजाय सुनाएको हो। विशेषले घुस लिने कार्की र दिने घर्ती दुवैलाई जनही तीन महिना कैद तथा ५० हजार रुपैयाँ जरिवाना तोकेको छ भने २ हजार रुपैयाँ क्षतिपूर्ति शूल्कबापत बुझाउन आदेश भएको छ।

यस मुद्दामा घुस दिने घर्तीलाई अख्तियारले सजाय छुट गरी सरकारी साक्षीका रूपमा पेस गरेको थियो। तर, घर्तीले अदालतमा प्रतिकूल बकपत्र गरे। यसरी उनले भ्रष्टाचार निवारण ऐनको दफा ५५ बमोजिम प्राप्त सजाय छुटको प्रावधानको उल्लंघन गरेको भन्दै उनलाई समेत विशेषले सजाय सुनाएको हो।

प्रतिकूल बकपत्र गरेपछि गत ६ चैतमा घर्तीमाथि पनि अख्तियारले मुद्दा दायर गरेको थियो। जसमा उनी दोषी पाइएका हुन्।

सुझावित समाचार