वैदेशिक रोजगारीको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका– १३ बस्ने रौतहट बौधीमाई नगरपालिका– ७ का २५ वर्षीय मिथिलेश कुशवाह, काठमाडौं महानगरपालिका– ३२ बस्ने भोजपुर नगरपालिका– ७ का ४४ वर्षीय केदारबहादुर भण्डारी, भक्तपुर मध्यपुर थिमी नगरपालिका– १ बस्ने सप्तरी सुरुंगा नगरपालिका– ५ का ५३ वर्षीय रामतुला मियाँ र ललितपुर महालक्ष्मी नगरपालिका– ३ बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका– ७ की ५५ वर्षीया सुनिता खत्री रहेका छन्।
प्रहरीका अनुसार मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै एकजनाबाट तीन लाख ५० हजार रुपैयाँ, केदारले पोर्चुगल पठाइदिन्छु भन्दै एकजनाबाट एक लाख २५ हजार रुपैयाँ रामतुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै एक जनाबाट तीन लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेकामध्ये केदारलाई काठमाडौं महानगरपालिका– १३ बाट, मिथिलेशलाई काठमाडौं महानगरपालिका– १२ बाट तथा रामतुला र सुनितालाई भक्तपुर मध्यपुर थिमी नगरपालिका– १ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।