केराको मूल्य महिना दिनयता बढेकोबढ्यै छ । काठमाडौं उपत्यकाको बजारमा एक दर्जन केराको औसत मूल्य ३५० रुपैयाँ पुगेको छ । बजारमा मागको तुलनामा आपूर्ति घटेका कारण मूल्य अकासिएको थोक फलफूल व्यवसायी संघका अध्यक्ष अमर बानियाँ बताउँछन् । ‘केरा आयातमा प्रतिबन्ध लागेको छ, तर स्वदेशी केराले माग धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अहिले बजारमा अभाव भएकाले मूल्यमा चाप परेको हो ।’
मागभन्दा आपूर्ति थोरै हुँदा बढेको मूल्यको लाभ किसानले पाएका छैनन् । उपभोक्ताले एक दर्जन केरालाई औसत ३५० रुपैयाँ खर्च गर्नुपरे पनि उपभोक्ताले बारीबाट जम्मा ८५ रुपैयाँमा बेच्नुपरेको छ । केरा उत्पादक किसान महासंघका अध्यक्ष विष्णुहरि पन्तले कोसाको ६–७ रुपैयाँका दरले बारीबाट केरा बिक्री भइरहेको बताए ।
‘बारीमा किसानले धेरै मूल्यमा केरा बिक्री गरेकै छैनन् । औसतमा प्रतिदर्जन ८५ रुपैयाँ पाउने हो,’ उनले भने, ‘तर, बजारमा भने मूल्य अकासिएको देख्दा अचम्म लागेको छ ।’ स्वदेशी केरालाई धराशयी बनाउने अभिप्रायले नियोजित रूपमा मूल्य बढाइको उनको भनाइ छ ।
‘टिआर–फोर’ नामक रोग नियन्त्रणका लागि सरकारले गत २ असोजदेखि केरा आयातमा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्धविरुद्ध केही व्यवसायीहरू संगठित रूपमै उत्रेर स्वदेशी किसानलाई अप्ठ्यारोमा पार्न खोजेको महासंघको बुझाइ छ । भारतबाट आयात भएको केरामा ढुसी आउने रोग (टिआर–फोर) देखिएपछि केही समयअघि चितवनमा स्वदेशी केराको बोट नै नष्ट गर्ने अभियानसमेत थालिएको थियो । नयाँ रोग भित्रिन नदिन र स्वदेशी केरालाई प्रवर्द्धन गर्न आयात प्रतिबन्धको निर्णय स्वागतयोग्य भएको पन्तले बताए । ‘सरकारले स्वदेशी किसानलाई प्रोत्साहन गर्ने गरी लिएको नीतिलाई जोगाइराख्नु जरुरी छ,’ उनले भने ।
किसानले बारीमा ८५ रुपैयाँ दर्जनका दरले बिक्री गरेको केरा होलसेल बजारबाट १५० देखि १८० रुपैयाँ दर्जनका दरले बिक्री भइरहेको बानियाँले बताए । केराको मूल्यमा मनोमानी गर्ने खुद्रा व्यापारी भएको उनको आरोप छ । ‘किसानबाट किनेको केरा होलसेल बजारमा आधा नै नष्ट हुन्छ, ढुवानी लागत पनि महँगो छ,’ बानियाँले भने, ‘त्यसैले, होलसेलबाट अधिकतम १८० रुपैयाँ प्रतिदर्जनमा केरा बिक्री भइरहेको छ, खुद्रा बजार नियन्त्रण भइरहेको छैन ।’ होलसेल मूल्यको दोब्बर भाउमा खुद्रा बजारमा केरा बिक्री भइरहेको छ ।
केरा उत्पादक संघले स्वदेशको माग धान्ने क्षमता नेपाली किसानमै रहेको दाबी गरे । अहिले पनि बारीमा नयाँ केरा लगाइसकेको र दुई–तीन महिनामा पर्याप्त उत्पादन हुने स्थिति रहेको संघका अध्यक्ष पन्तको दाबी छ ।