त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयपरिसरमा प्लास्टिकजन्य सामग्री प्रयोगमा सोमबारदेखि प्रतिबन्ध लगाइएको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयले मातहतका सबै कार्यालयमा प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर र अराइभलमा प्रवेश गर्ने यात्रुले अब प्लास्टिकका कुनै पनि सामग्री प्रयोग गर्न नपाउने विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेले बताए । ‘प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध सरकारकै नीति हो । सोही नीति हामीले विमानस्थलस्थित अध्यागमन कार्यालयमा पनि लागू गरेका हौँ,’ उनले भने, ‘अब अध्यागनको डिपार्चर र अराइभलमा प्रवेश गर्ने यात्रुले प्लास्टिकका सामग्री प्रयोग गर्न पाउनेछैनन् ।’
कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै प्रत्येक दिन सरदर १७ हजारदेखि २० हजार यात्रुको आवागमन हुन्छ । उनीहरूले प्रत्येक दिन अराइभल र डिपार्चर सेक्सनमा मात्रै सरदर चार सय थानभन्दा धेरै प्लास्टिकका कप प्रयोग गर्दै आएका छन् । त्यसबाहेक प्रयोग हुने प्लास्टिकजन्य अन्य सामग्रीको तथ्यांक संकलन गरिएको छैन ।
विमानस्थलस्थित अध्यागमनमातहतका कार्यालयमा मात्रै प्लास्टिकजन्य सामग्री प्रतिबन्ध लगाउँदा कम्तीमा प्लास्टिकका चार सय कप खपत बन्द हुनेछ । यो दर बढाउँदै लगिने घिमिरेले बताए । ‘डिपार्चर र अराइभल सेक्सन हाम्रो क्षेत्राधिकारभित्र पर्छन् । हामीले पहिलो चरणमा यो क्षेत्रमा मात्रै प्लास्टिकजन्य सामग्री प्रयोगमा रोक लगाएका छौँ । त्यसबाहेकका अन्य क्षेत्रमा पनि यस्ता सामग्री प्रयोगमा प्रतिबन्ध लगाउन सक्दा राम्रो होला । जुन हाम्रो क्षेत्राधिकारभित्र पर्दैन,’ उनले भने ।
उनका अनुसार डिपार्चर र अराइभल सेक्सनमा प्रवेश गर्ने यात्रुका लागि पानी पिउन छुट्टाछुट्टै बुथ राखिनेछ । प्रत्येक बुथमा कागजको कप राखिनेछ ।