विवाहमा गएका कञ्चनपुरका एक युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका– ५, भानुबस्तीका १८ वर्षीय उज्ज्वल सायरको हत्या भएको हो। गएराति सायरमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ।
कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले छिमेकीको विवाहमा गएका युवाहरूबिच आपसी वादविवाद भएपछि अर्को समूहका युवाहरूले सायरमाथि घारिलो हतियार प्रहार गरिएको बताए। हतियार प्रहारबाट गम्भीर घाइते भएका सायरको उपचारकै क्रममा धनगढीको मायामेट्रो अस्पतालमा मृत्यु भएको बताए। मृतकका घरपरिवार आफन्तले घटनामा संलग्न सबैमाथि कानुनी कारबाहीको माग अघि सारेका छन्।
प्रहरी प्रवक्ता शाहीले घटनामा संलग्न भएको आशंकामा दुई युवक नियन्त्रणमा लिएको र उनीहरूसँग सोधपुछदेखि अनुसन्धान भइरहेको बताए। सायर परिवारमा विवाहमा गएको छोरा अब कहिल्यै नफर्किने भएपछि घरपरिवार, आफन्त शोकमा डुबेका छन् । सामाजिक कार्यमा पनि युवाहरूबिचको यो घटनाले समाजलाई त्रसित बनाएको छ ।