उदयपुरको बेलका नगरपालिका– ३, नयाँटोलमा गतराति भएकाे सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा सोही वडाको त्रिवेणी टोलनिवासी २७ वर्षीय रोमन बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।
रामपुर बजारबाट सातपत्रेतर्फ बिहेको जन्ती बोकेको प्रदेश ०१–०२–००२ ख ०१५८ नम्बरको बसले प्रदेश ०१–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयले बताएका छन् । मोटरसाइकलचालक बस्नेतलाई उनकै घरनजिकै ठक्कर दिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी निरञ्जन थापाले घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए । उनका अनुसार दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेका छन् ।
इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।