अमेरिका–इरान दोस्रो चरणको वार्ता अनिश्चित

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण
  • अमेरिकाले हर्मुजनजिकै बन्दरगाह पार गर्न खोजिरहेको इरानी कार्गो जहाजलाई आक्रमण गरी नियन्त्रणमा लिएपछि तेहरान वासिंटनसँग रुष्ट  

अमेरिका र इरानबिच हुने भनिएको दोस्रो चरणको वार्ता अनिश्चित बनेको छ । अमेरिकाले स्ट्रेट अफ हर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज कब्जा गरेपछि दुई देशबिच चाँडै हुने भनिएको वार्ता अनिश्चित देखिएको हो । इरानमाथिको नाकाबन्दी कडा बनाउन खटिएको अमेरिकी सेनाले आइतबार इरानी पानीजहाज कब्जामा लिएको थियो । उक्त घटनापछि सोमबार इरानले शान्ति वार्ताको अर्को चरणको योजना नरहेको बताएको छ ।  अमेरिकाले उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा पाकिस्तानमा एक प्रतिनिधिमण्डल पठाउँदै गर्दा तेहरानको उक्त भनाइ आएको हो । अमेरिकाले हर्मुजनजिकै बन्दरगाह पार गर्न खोजिरहेको इरानी कार्गो जहाजलाई आक्रमण गरी नियन्त्रणमा लिएपछि तेहरान वासिंटनसँग रुष्ट छ ।  यसअघि अमेरिकी मध्य कमान्डले एक भिडियो सार्वजनिक गरेको थियो, जसमा एक नौसैनिक जहाजले कार्गो जहाजलाई गोलीबारी गर्दै रोकेको देखिन्छ । त्यसको पुष्टि गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘आज इरानी झन्डावाला एक जहाजले नाकाबन्दी तोड्ने कोसिस गर्यो, तर त्यो असफल भयो । यो जहाज ९०० फिट लामो छ र लगभग एक विमानबाहकजत्तिकै भारी छ ।’

अमेरिका–इरान दुई हप्ताको युद्धविराम बुधबार समाप्त हुँदै छ । तर, पाकिस्तानमा वार्ता सुरु भए पनि सफलताको सम्भावना कम रहेको विश्लेषण हुन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिनिधिमण्डल पाकिस्तानतर्फ प्रस्थान गरेको सोमबार बताएका थिए । तर, इरानले पाकिस्तानमा प्रतिनिधिमण्डल पठाउने वा नपठाउने विषयमा केही उल्लेख गरेको छैन ।

अमेरिकाले हर्मुजमा नाकाबन्दी कायम राखेसम्म तेहरान वार्तामा सहभागी नहुने इरानी सञ्चार माध्यमले जनाएका छन् । यसैबिच पाकिस्तानले दोस्रो चरणको वार्ताका लागि भित्रभित्रै तीव्र तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिका र इरान २२ अप्रिलमा समाप्त हुने युद्धविरामलाई थप विस्तार गर्न अप्रत्यक्ष वार्तामा रहेको विभिन्न स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रिपोर्टअनुसार दुवै पक्ष युद्धविराम लम्ब्याउने पक्षमा छन् । तथापि, इरानले अमेरिकासँगको अर्को चरणको वार्ता सुरु हुन लेबनानमाथिको इजरायली आक्रमण अन्त्य हुनुपर्ने माग राख्दै आएको थियो । सो माग पनि बिहीबार इजरायल र लेबनानबिच युद्धविरामसँगै पूरा भएको छ ।

सुझावित समाचार